जसले भारत र पाकिस्तान दुवै देशबाट क्रिकेट खेले

 असार २, २०७६ सोमबार १४:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेटमा भारत र पाकिस्तान चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई देशबीचको खेल अक्सर खचाखच भरिएको स्टेडियममा हुने गर्छ । एक दिवसीय क्रिकेटमा भारतविरुद्ध पाकिस्तान हावी भए पनि विश्वकपमा भने भारतमाथि अहिलेसम्म जित दर्ता गर्न सकेको छैन् ।

१९९२ देखि २०१९ को विश्वकप सम्म भारत र पाकिस्तान सात पटक भिड्दा सातै पटक भारतले जित निकालेको छ ।

विश्व क्रिकेटका स्टार खेलाडी सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्नुअघि पाकिस्तानी फिल्डरको रुपमा मैदान प्रवेश गरेका थिए । तर उनले डेब्यू भने पाकिस्तानविरुद्ध नै १९८९ मा गरेका हुन् ।

भारत र पाकिस्तानबीच भएको प्रतियोगितामा पाकिस्तानका तर्फबाट सचिनले वैकल्पिक खेलाडीको रुपमा फिल्डिङ गरेका थिए । तर यो कतै रेकर्डमा भने दर्ता छैन् । सचिनले यो कुरा आफ्नाे  बायोग्राफीमा  उल्लेख गरेका छन् ।

२० जनवरी १९८७ मा क्रिकेट क्लब अफ् इन्डिया स्थापनाकाे ५० वर्ष पूरा भएको उपलक्ष्यमा मुम्बईमा भारत र पाकिस्तानका बीचमा मैत्रीपूर्ण क्रिकेटको आयोजना गरिएको थियो । यो पाँच टेस्ट सिरिज पहिला ४० ओभरका एक दिवसीय क्रिकेटको आयोजना गरिएको थियो । भारतले ब्याटिङ गरिरहेका बेला खानापछि जावेद मियादाद र अब्दुल कादिर फिल्डिङ गर्न आएनन् । पाकिस्तानसँग वैकल्पिक खेलाडी नभएका कारण १४ वर्षीय सचिन पाकिस्तानका तर्फबाट फिल्डिङ गर्न आएका थिए ।

तीन जना खेलाडीले भारत र पाकिस्तानबाट क्रिकेट खेलेका छन् । 

अब्दुर हाफिज करदार 

अब्दुल हाफिज करदार पाकिस्तानी क्रिकेटको जन्मदातामध्ये एक जना हुन् ।  लाहोरमा जन्मिएका करदारले आफ्नो करियरको सुरुवात भारतीय क्रिकेट टिमबाट गरेका थिए । १९४६ मा भारतले इंग्ल्याण्ड भ्रमण गर्दा उनी पनि एक जना सदस्य थिए ।

भारतका लागि उनले जम्मा तीन टेस्ट खेले । पाकिस्तानबाट भने उनले २३ टेस्ट खेलेका छन् । भारतबाट उनले १९४६ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गर्दा ४३ रन बनाएका थिए । अन्तिम टेस्ट भने उनी वेस्टइ ण्डिजविरुद्ध १९५८ मा पाकिस्तानबाट खेलेका थिए ।

क्रिकेट पछि उनी राजनीतिमा पनि आएका थिए । स्विजरल्याण्डका लागि पाकिस्तानका तर्फबाट राजदूत पनि बने । त्यसअघि उनी १९७२ देखि १९७७ सम्म पाकिस्तानी क्रिकेट छनोट समितिको संयोजक भएर पनि काम गरे । 

आमिर इलाही

आमिर इलाहीले करियरमा जम्मा ६ टेस्ट खेले । तर पनि उनले भारत र पाकिस्तान दुवै देशबाट क्रिकेट खेल्ने इतिहास बनाएका छन् । पहिलो खेल भारतका लागि १९४७ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए । भारत पाकिस्तान छुट्टिएपछि उनले ५ वटा टेस्ट पाकिस्तानबाट खेले ।

अन्तिम टेस्टमा उनले र जुल्फिकर अहमदसँग मिलेर नवौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । इलाहीले ४७ रन बनाएका थिए ।

गुल मोहम्मद

गुल मोहम्मदले जम्मा ९ टेस्ट क्रिकेट खेले । उनले ८ वटा भारतका लागि खेले भने पाकिस्तानका लागि एउटा मात्रै टेस्ट खेलेका थिए । १९४६ मा इंग्ल्याण्ड तथा १९४७–१९४८ मा भारतले अस्ट्रेलिया भ्रमण गर्दा  उनी भारतीय टिमका सदस्य थिए ।

१९५५ मा पाकिस्तानको नागरिकता लिएपछि उनी पाकिस्तानी खेलाडी बनेका हुन् । उनले पाकिस्तानका लागि एक मात्र टेस्ट क्रिकेट खेले । खेलाडी करियरबाट बिदा भएपछि उनले १९८७ सम्म लाहोरमा रहेको गद्दाफी स्टेडियमको बोर्ड अफ् डाइरेक्टर बनेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया