दुबईमा थलिएकी कमलाको उपचार खर्च डेढ करोड नाघ्यो, खर्च जुटाउन ‘च्यारिटी’ को प्रस्ताव

 असार ३, २०७६ मंगलबार १२:६:२४ | उमाकान्त पाण्डे

यूएई – दुबई अस्पतालमा ५ महिनादेखि उपचार गराइरहेकी काभ्रेकी कमला गिरीको उपचार खर्च झण्डै डेढ करोड रुपैयाँ पुगेको छ । ब्लड क्यान्सरका कारण थलिएकी उहाँको स्वास्थ्यमा सुधार आए पनि खर्च अभाव हुँदा थप उपचारमा समस्या भएको छ । 

अहिलेसम्म ५ पटक किमो दिइसकेको र अन्तिम तथा छैटौं किमोको तयारी भैरहेको कमलाका श्रीमान बिमलले बताउनुभयो । उपचारमा संलग्न डाक्टरले १० दिनभित्र किमो दिनुपर्ने भएकाले तयारी गर्न भनेका छन् । 

तर बिमलसँग किमोको लागि रकम छैन । पाँचौं किमोसम्म आफन्त, विभिन्न व्यक्ति र संस्थाको सहयोगमा उपचार भएको थियो । ‘सबैसँग हारगुहार गरिसकें ,एउटै व्यक्तिले पटकपटक सहयोग गरिसक्नु भएको छ, अब कोसँग पैसा माग्ने ?’ बिमलले भन्नुभयो ।

श्रीमतीको उपचार गर्नुपर्ने भएकाले काममा समेत जान नसक्दा बिमलको जागिर पनि गयो । अब कमलाको उपचार गराउन बिमलसँग कुनै विकल्प छैन । एकपटक किमो गराउँदा झन्डै २ लाख रुपैयाँ अथवा ८ हजार दिर्हाम आवश्यक पर्छ । दैनिक उपचार लगायतको खर्च अस्पतालमा तिर्नै बाँकी छ ।

कमलाको अहिलेसम्मको उपचारमा भएको ५ लाख २० हजार दिर्हाम अर्थात झन्डै १ करोड ५६ लाख रुपैयाँ अस्पतालमा तिर्न बाँकी छ ।  बिमलले आफूसँग भएको र सहयोग जुटाएर २२ हजार मात्रै तिर्नुभएको छ ।

अझै एक महिना उपचार गर्नुपर्ने डाक्टरले बताएका छन् । अस्पतालमा खर्च बढिरहेको तर आम्दानीको श्रोत नहुँदा बिमल थप चिन्तामा हुनुहुन्छ । दैनिक उपचार खर्च मात्रै एक, डेढ लाख रुपैयाँ हुन्छ ।

त्यसबाहेक घर र छोरीको स्कुल खर्चको हिसाब भिन्नै छ । श्रीमतीको उपचार खर्च मात्र तिर्न सके मन हलुका हुने बिमलले बताउनुभयो । 

खर्च मिनाहाका लागि दूतावासको प्रयास

बिमलले उपचार खर्च मिनाहाका लागि पहल गरिदिन नेपाली दूतावाससँग आग्रह गर्नुभएको छ । दूतावासले पनि सुरुदेखि नै अस्पतालसँग खर्च छुट गरिदिन आग्रह गर्दै आएको छ । यसअघि दूतावासको पत्रमार्फत र उपनियोग प्रमुख आफैं अस्पताल पुगेर यस विषयमा अस्पताल प्रशासनसँग छलफल भएको थियो ।

 सोमबार फेरि दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँल र श्रम काउन्सिलर भेषबहादुर कार्कीले अस्पतालका उच्च अधिकारीसँग भेट गर्नुभएको छ ।

उपनियोग प्रमुख फुयाँलले उपचारमा अस्पताल प्रशासनको सहयोगको प्रशंसा गर्दै थप उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो । बिरामीको परिवारको आर्थिक अवस्था कमजोर रहेको र पैसा तिर्न नसक्ने जनाउँदै हालसम्मको उपचार खर्च छुट गरिदिन उहाँले अस्पताल प्रशासनसँग अनुरोध गर्नुभएको छ । 

अस्पतालले दूतावासको आग्रहलाई सकारात्मक रुपमा लिएको जनाउँदै केही रकममा हेर्न सकिने जनाएको छ । तर सबै खर्च छुट गर्ने प्रावधान नरहेको भन्दै अस्पतालले विकल्प प्रस्तुत गरेको छ ।

उसले कुनै ‘च्यारिटी’ को आयोजना गरेर खर्च जुटाउन सकिने विकल्प दूतावाससँग राखेको उपनियोग प्रमुख फुयाँलले उज्यालोलाई जानकारी दिनुभयो । 

‘च्यारिटी’ का लागि सबै व्यवस्थापन अस्पताल प्रशासनले गर्नेछ । यसको तयारी पूरा भएपछि दूतावासलाई जानकारी गराएर दूतावासले अस्पतालसँग समन्वय गर्ने छ । योसँगै दूतावासले अरु प्रयासहरु पनि गर्ने उपनियोग प्रमुख फुयाँलकाे भनाई छ । 

यूएईका संघसंस्थासँग सहयोगको अपील

कमलाको उपचारमा जिल्लागत तथा व्यक्तिगत रुपमा सहयोग जुटिरहेको छ । उनीहरुको सहयोगले अहिले कमलाको दैनिक उपचार सम्भव भैरहेको हो ।

यूएईको एक स्थानीय रेडियो रेडियो सिटी १०१६ ले १६ हजार दिर्हाम सहयोग गरेको छ । यो रकमले कमलाको पाँचौं किमो गराएको र बचेको रकम घर र छोरीको पढाइ खर्चमा प्रयोग गरिएको बिमलले बताउनुभयो । 

यहाँका केही संस्थाका प्रतिनिधिले अस्पतालमै पुगेर कमलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । साथै उनीहरुले सहयोगको प्रतिवद्धता समेत जनाएका थिए । बिमलले अहिले आफ्नो सबै विकल्प बन्द भएकाले फेरि सहयोगको लागि अपील गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया