जेठमा मात्रै सरकारले बाँड्यो डेढ करोड रुपैयाँ, प्रधानमन्त्री भियतनाम जाँदा २ करोड खर्च

 असार ३, २०७६ मंगलबार १७:४७:३६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - सरकारले जेठ महिनामा विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ ।

जेठमा १ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई ५ लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, बिर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई ५ लाख, अछामका हिमाल विकलाई ८ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई १ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

यस्तै काभ्रेका निलबहादुर बस्नेतलाई ५ लाख र युगकवि सिद्धिचरण श्रेष्ठ  अक्षयकोष काठमाण्डौ र अन्य १० जनालाई गरेर ५६ लाख रुपैयाँ वितरण गरिएको छ ।

राष्ट्रपतिको चीन भ्रमणमा ३ करोड र प्रधानमन्त्रीको भियतनाम भ्रमणमा २ करोड खर्च

सरकारले जेठ महिनामा विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणमा साढे ५ करोड रुपैयाँ खर्च भएको जनाएको छ । जेठमा ५ करोड ५१ लाख ५२ हजार रुपैयाँ  विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणका क्रममा खर्च भएको हो । राष्ट्रपति चीन जाँदा ३ करोड  ९ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै गएको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र म्यानमारको भ्रमणमा जाँदा २ करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ । 

५ करोड रुपैयाँ भन्दा धेरै रकमान्तर 

अर्थ मन्त्रालयले जेठ महिनामा पाँच अर्ब रुपैयाँ रकमान्तर गरेको छ । केही चालु तथा पूँजीगत खर्चको भुक्तानीका लागि पाँच अर्ब पाँच करोड ५० लाख रुपैयाँ रकमान्तर गरेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार माओवादी द्वन्द्वपीडितका हकदारका लागि ३९ करोड रुपैयाँ दिइएको भने प्रहरी प्रधान कार्यालयलाई चार थान सवारी र दुई थान एम्बुलेन्स खरिदका लागि १५ करोड ५० लाख रुपैयाँ रकमान्तर गरिएको छ । 

पूर्वाधारको लागि पनि ठूलो रकम रकमान्तर गरिएको छ । रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाका लागि एक अर्ब रुपैैयाँ, १ नम्बर प्रदेशका खानेपानी आयोजनाको बिल भुक्तानीका लागि ५० करोड, प्रदेश नम्बर ३ का खानेपानी आयोजनाको बिल भुक्तानीका लागि पनि ३७ करोड रुपैयाँ र बेलहिया–बुटवल सडक खण्डमा यसअघि सिर्जित दायित्व भुक्तानीका लागि ४० करोड रुपैयाँ रकमान्तर गरीएको छ ।

यस्तै जनताको तटबन्ध कार्यक्रमअन्तर्गत पश्चिम राप्ती नदी नियन्त्रणका लागि १६ करोड रुपैयाँ, झापाको शिवसताक्षी नगरपालिकाभित्र पर्ने धरमपुर पाँचगाछी सडक स्तरोन्नतिका लागि ४ करोड ५१ लाख रुपैयाँ सशर्त अनुदान हस्तान्तरण गरिएको छ ।

यस्तै नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणका लागि ११ करोड रुपैयाँ र मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका दुई वटा सडक आयोजनाका लागि चार करोड रुपैयाँ उपलब्ध गराएको पनि अर्थ मन्त्रालयले जनाएको छ । 

यस्तै कालीगण्डकी करिडोर सडक आयोजनाको लागि २० करोड रुपैयाँ र जनकपुर–जटही सडक आयोजनाका लागि ४३ करोड रुपैयाँ रकमान्तर गरेर निकासा दिइएको छ ।

आर्थिक सहायता, वैदेशिक भ्रमणको खर्च र रकम निकासाको पूर्ण विवरण

 

अन्तिम अपडेट: फागुन २९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया