हायात होटल अनिश्चितकालका लागि बन्द

 असार ३, २०७६ मंगलबार २०:२:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ ।

मजदुर आन्दोलनका कारण विगत ६ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेञ्ज केन्द्रलाई पठाएको छ ।

सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ । दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो । मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिनुभयो ।

'प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उहाँहरु (मजदुर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैपर्‍यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ', उहाँले भन्नुभयो । मजदुर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ । हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ ।

उहाँका अनुसार ६ दिनदेखि होटलको सेवा प्रभावित हुँदा दैनिक ५० लाख रुपैयाँका दरले झण्डै चार करोड रुपैयाँको क्षति भएको छ । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन झण्डै ६ महिना लाग्ने बताइएको छ । मजदुरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताउनुभयो ।

होटलको ‘स्टे वार्ड’ का १५ कर्मचारी दुई दिन अनुपस्थित भएपछि गत जेठ २९ गते स्पष्टिकरण सोधिएको र त्यही बहानामा मजदुरले आन्दोलन चर्काएको व्यवस्थापनको जिकिर छ । मजदुरले भने व्यवस्थापनले श्रम ऐनको पालना नगरी सुविधाको सट्टा जबरजस्ती पेल्न खोजेकाले समस्या आएको बताएका छन् । मजदुर र व्यवस्थापनबीचको टक्करले होटल बन्द हुने अवस्था सिर्जना हुनु मुलुकको पर्यटन क्षेत्रका लागि दुःखद् भएको व्यवसायीहरु बताउँछन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको सन्दर्भमा पाँचतारे होटल बन्द हुनुले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ । होटल व्यवसायीको छाता सङ्गठन (हान)ले सञ्चालनमा रहेको होटल बन्द हुनु दुःखद् भएको र सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ ।

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० शय्याको होटलमा झण्डै ४०० मजदुर कार्यरत छन् । हायातमा रहेका पाहुनालाई दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सारिएको बताइएको छ ।

हानका अनुसार अहिले मुलुकभर १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । उपत्यकामा मात्रै हायातसहित सात वटा पाँचतारे होटल सञ्चालनमा थिए । थप सात वटा पाँचतारे होटल छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

काठमाण्डाै बाहिर पोखरामा दुई तथा नेपालगञ्ज र भैरहवामा एक-एक वटा पाँचतारे होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय चेन होटल सेराटन, हिल्टनलगायत निर्माणका क्रममा छन् । केही महिनाअघि मेरियट होटल पनि सञ्चालनमा आएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया