सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिस

 असार ५, २०७६ बिहिबार ८:२९:४७ | रासस

काठमाण्डौ – न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

परिषद्को मङ्गलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद् ऐन २०७३ को दफा ११ को १ (च) मा भएको व्यवस्थाअनुसार सापकोटा, कार्की र सिंहलाई कारवाही गर्न बैठकले सिफारिस गरेको हो । यो दफामा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गरेको र दफा ११ (२) मा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको हुँदा कारवाही किन नगर्ने भन्ने व्यवस्था छ । 

परिषद्ले यही प्रकारणमा अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, सारङ्गा सुवेदी र जनक पाण्डेलाई न्यायलयको मर्यादालाई श्रीवृद्धि गर्ने गरी प्रभावकारीरुपमा काम गर्न सेचत गराउने निर्णय गरेको छ । यही प्रकरणका न्यायाधीश नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेल अवकाश भइसक्नुभएकाले तामेलीमा राख्ने निर्णय भएकोसमेत प्रवक्ता कार्कीले जानकारी दिनुभयो । 

सुन तस्करी मुद्दामा छानबिनका लागि न्यायपरिषद्ले गएको चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । उक्त समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो । त्यसैगरी परिषद्को बैठकले काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बाँनियालाई सचेत गराउनेसमेत निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया