पारमाणविक पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सांसदहरुले गराए सरकारलाई सचेत

 असार ५, २०७६ बिहिबार १३:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभाका सांसदहरुले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन । 

प्रतिनिधिसभाका सांसदहरु देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराउनु भएको हो । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सत्तारुढ नेकपाका प्रमुख सचेतक गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पारमाणविक पदार्थको प्रयोगको अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पार्नु भयो । 

उहाँले त्यस पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गर्नु भयो ।  

सांसद योगेशकुमार भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुने भएकाले विनाअध्ययन यस्ता पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराउनु भयो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारले ती पदार्थहरुको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   

अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रलाई पारमाणविक पदार्थको प्रयोगका लागि स्विकृत नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया