विश्वकप क्रिकेट : बंगलादेशलाई ४८ रनले हराउँदै शीर्ष स्थानमा फर्कियो अष्ट्रेलिया

 असार ५, २०७६ शुक्रबार ०:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशलाई ४८ रनले पराजित गरी साविक विजेता अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ ।

विश्वकपको ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा पुगेको अष्ट्रेलियाको सेमिफाइनल प्रवेश पनि लगभग सुरक्षित बनेको छ । 

नटिङघमको ट्रेन्ट ब्रिजमा ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले पारीको अन्तिम बलमा सबै विकेट गुमाएर ३३३ रनमात्र जोड्न सक्यो । 

करिअरको सातौं र विश्वकपमा पहिलो शतक प्रहार गरेका बंगलादेशी विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमको प्रदर्शन छायामा परेको हो । चौथो नम्बरमा ब्याटिङ गरेका रहिमले ९७ बलमा ९ चौका र १ छक्कासहित १०२ रनको अविजित पारी खेले ।

यसअघि ओपनर तामिम इक्वालले ६२, शानदार लयमा रहेका शकिब अल हसनले ४१ तथा महमुदुल्लाहले ६९ रनको अर्धशतकीय पारी खेले पनि विशाल लक्ष्य भेट्टाउन असफल रहे । 

यसअघि दक्षिण अफ्रिका र वेष्ट इण्डिजविरुद्ध सानदार प्रदर्शन गरेको बंगलादेशका बलरहरुले आजको खेलमा लय भेट्टाउन सकेनन् । 

बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिस, मिचेल स्टार्क र नाथान कल्टर नाइलले दुई–दुई विकेट लिए । 

यसअघि ओपनर डेविड वार्नरले कीर्तिमानी प्रदर्शन गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रनको विशाल योगफल बनाएको थियो । यो एकदिवसीय विश्वकपमा अहिलेसम्मकै तेस्रो सर्वाधिक योगफल हो । 

वार्नरले जारी विश्वकपमा सर्वाधिक व्यक्तिगत रन प्रहार गर्ने क्रममा १ सय ६६ रनको पारी खेले । उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान आरोन फिन्चसँग मिलेर १ सय २१ रनको साझेदारी गरे । 

फिन्च ५३ रन बनाएर आउट भएपछि आएका उस्मान ख्वाजासँग मिलेर दोस्रो विकेटका लागि सानदार १ सय ९२ रनको साझेदारी गरे । ख्वाजा शतक बनाउनबाट ११ रनले चुके । उनले ७२ बलमा १० चौका प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलले १० बलमा ३१ रन प्रहार गरे । 

बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमानले एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • चेत राज रावल

    June 21, 2019, 8:23 a.m.

    तुलनात्मक हिसाबे ले बलियो देस AUS सँग बंगलादेस हारे पनी जिते सरह नै हो खुसि लाग्यो खेल हेरेर

  •  0 Reply

तपाईको प्रतिक्रिया