धनकुटाको चुलीवनबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान

 असार ६, २०७६ शुक्रबार ९:१३:४२ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिका–७, चुलीवनमा पहिलो पटक सफल रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ ।

धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ उडान बिहीबारदेखि सुरु भएको छ । धनकुटा बजार नजिकै रहेको चुलीवनबाट धनकुटा नगरपालिकाको सहयोगमा कोशी एडभेन्चर प्रालि इटहरीले साँगुरीगढीको याक्चनासम्म परीक्षण उडान भरेको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिने साहसिक खेल प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रहेकाले यसलाई व्यावसायिक रूप दिइने कोशी एडभेन्चर इटहरीका निर्देशक सुरेश बस्नेतले बताउनुभयो ।

धनकुटा नगरपालिकाले चुलीवनबाट प्याराग्लाइडिङमा याक्चना अवतरण गर्ने र याक्चनाबाट मूलघाटसम्म र्‍याफ्टिङ प्याकेजको रुपमा सञ्चालन गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो । प्याराग्लाइडिङबाट आन्तरिक तथा बाहृय पर्यटक आकर्षित गर्नका लागि धनकुटा नगर क्षेत्र भित्रका सम्भाव्यता साहसिक खेलहरु अध्ययन, अनुसन्धान गर्नका लागि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

कोशी एडभेन्चर प्रालि इटहरीले चुलीवनबाट बिहीबार गरेको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि कम्पनीले प्याराग्लाइडिङ उडानका लागि विस्तृत अध्ययन प्रतिवेदन केही समयमा नगरपालिकालाई बुझाउनेछ । त्यही विस्तृत विवरणको आधारमा निश्चित मापदण्ड बनाएर नगरपालिकाले निजी कम्पनीहरुलाई प्याराग्लाइडिङको उडान भर्न दिने धनकुटा नगरपालिकाले बताएको छ । 

यसअघि भेडेटार, डाँडाबजार, धरान, इलाम, उदयपुरलगायतका जिल्लामा प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया