पाँचथर युवती हत्या प्रकरण: आराेपित सार्वजनिक

 असार ६, २०७६ शुक्रबार १९:५५:१३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउँपालिका-६, भारपाको सित्तेमा गएको मंगलबार साँझ हत्या गरिएकी २१ वर्षीया सुजाता तामाङको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । 

बिहीबार राति पक्राउ परेका हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र भनिने असिम लाओतीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ परेका लाओतीबाट तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले सार्वजनिक गरेको छ ।

हिलिहाङ गाउँपालिका-३ को गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङको मंगलबार दिउँसोे हत्या गरिएको हो । हिलिहाङ–६ रातमाटेमा फाइनान्स समूहको बैठकसँगै ब्याज र किस्ता संकलन गरेर गोपेटार फर्कँदै गर्दा मंगलबार साँझ सित्ते खोल्सामा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

हत्यापछि अनुसन्धान गर्दा लाओती दोषी देखिएको र उनलाई हिलिहाङ-५ को गाँउमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुवँरले बताउनुभयो । लाओतीले पैसाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  । 

इलामको माईजोगमाई गाउँपालिका-५ घर भएकी तामाङको शव बुधबार पोष्टमर्टमपछि आफन्तलाई जिम्मा दिइएको पाँचथर प्रहरीले जनाएको छ । 

यस्तै तामाङ कार्यरत एनएमबी माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाण्डौले हत्या गरिएकी तामाङका परिवारलाई क्षतिपूर्तिस्वरुप ६ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको फाइनान्सका सहायक महाप्रबन्धक रामप्रसाद मिश्रले बताउनुभयो । साथै मृतकको घरका एकजना सदस्यलाई फाइनान्समा रोजगार दिनेसमेत मिश्रले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया