राजस्थान सरकारको तीर्थाटन कार्यक्रम : जेष्ठ नागरिकलाई जहाजमा राखेर पशुपतिको दर्शन

 असार ७, २०७६ शनिबार १३:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको राजस्थान प्रदेश सरकारले त्यहाँका ज्येष्ठ नागरिकलाई हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको छ । 

प्रदेशमा रहेका ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई नि:शुल्क तिर्थयात्रामा हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको हो ।  

राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो सुविधा दिने घोषणा गर्दै तीर्थयात्रामा जानेले आगामी जुलाई ५ भित्र आवेदन दिन सक्ने पनि बताएको छ ।  

राजस्थान सरकारले संचालन गरेको वरिष्ठ नागरिक तीर्थ यात्रा योजना अनुरुप तीर्थमा जानेहरुलाई पहिलो पटक भारत बाहिर पशुपतिनाथको दर्शनमा ल्याउन लागेको हो । राजस्थान प्रदेशको पर्यटन तथा तथा देवस्थान मन्त्री विश्वेन्द्र सिंहको अध्यक्षतामा बसेको राज्यस्तरीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

त्यहाँको सरकारले यसअघि भारतभरीका तीर्थस्थलहरुमा ज्येष्ठ नागरिकलाई भ्रमण गराउँदै आएको थियो । प्रदेश सरकारले यो पटक उमेर हद पनि कम गरेको छ ।

यसअघि ७० वर्ष वा त्यो भन्दा माथिकालाई मात्रै समावेश गर्दै आएकोमा यसपटबाट भने ६५ वर्ष वा त्यो भन्दा माथिकालाई समावेश गर्ने निर्णय गरेको छ । राज्य सरकारले ५ हजार नागरिकलाई हवाई जहाज र ५ हजार नागरिकलाई रेलमार्फत विभिन्न स्थानमा रहेको तीर्थस्थलको भ्रमण गराउने लक्ष्य राखेको छ । जसमध्ये पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई हवाई जहाजमार्फत ल्याउने छ । 

यस्तै तीर्थयात्रीलाई गंगासागर–दक्षिणेश्वर, काली–वेलूर मठ कोलकाता सर्किटमा पनि हवाई जहाजमार्फत दर्शन गराउन लगिने छ । यस्तै देहरादून–हरिद्वार–ऋषिकेश सर्किटमा तीर्थयात्रीलाई देहरादूनसम्म हवाईजहाज र त्यसपछि बसमा यात्रा गराइने मन्त्रालयले जनाएको छ । 

यस पटक राज्य सरकारले तीन वटा नयाँ तीर्थयात्रा थप गरेपछि ९ वटा सर्किट पुगेको छ । रेल यात्रामा दुई वटा नयाँ सर्किट र एउटा देशबाहिर पशुपतिनाथ सर्किट गरी तीन वटा नयाँ सर्किट थपिएको उसले जनाएको छ । 

यो कार्यक्रमअन्तर्गत रेलबाट तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकले आफ्नो सहयोगी पनि लैजान पाउने छन् । साथै सेवानिवृत्त कर्मचारीले पनि निःशुल्क तीर्थयात्रामा जान पाउने मन्त्रालयले जनाएको छ । 

तीर्थ यात्रा योजना अन्तर्गत हवाई मार्ग र रेल मार्गबाट जान पत्रकारका लागि पनि ५÷५ प्रतिशत सिट छुट्याइएको छ । यसका लागि पत्रकारको उमेर भने ६० वर्ष वा त्यो भन्दा माथिको हुनुपर्ने छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया