राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ: वरिष्ठ नेता नेपाल

 असार ७, २०७६ शनिबार १७:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । 

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो-सकिएन भनेर राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको हो ।

उहाँले गरिबी, अभाव, बेरोजगारी, विकृति तथा विसंगतिको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहना पूरा गर्न कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकता औल्याउनुभयो । आर्थिक सम्मृद्धिको नाराले मात्रै देश र देशवासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने भन्दै उहाँले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आत्मसमीक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौ ? यदि सकिरहेका छैनौँ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ ।’

पूर्व प्रधानमन्त्री नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी-व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया