लमजुङ र मनाङ जोड्ने पुल बाढीले बगायो, यात्रु अलपत्र

 असार ८, २०७६ आइतबार १७:३०:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।

लमजुङ र मनाङ सिमानाको मार्दी खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । मनाङबाट बेसीशहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् ।

सडक निर्माण भएको एक दशकपछि मनाङ जोड्न लमजुङ सीमानाको म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।

यस्तै तिमाङ खोलाको छहरेमा राखिएको ह्युम पाइपसहितको अस्थायी काठे पुल बगाएको ५ । पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।

मनाङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार आइतबार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुई वटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको छ । 

लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव बढेकोले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया