कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

 असार ८, २०७६ आइतबार १९:३०:३९ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशसभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बजेटको छलफलमा मुख्यमन्त्री उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक ११ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेसका सांसदहरुले मुख्यमन्त्री उपस्थित नभए बैठक बस्न नदिने अडान राखेपछि बैठक स्थगित भएको हो । 

बैठकको सुरुमै आर्थिक बर्ष २०७६-७७ को बजेटमाथि छलफलका लागि सभामुख राजबहादुर शाहीले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण विषयमा मुख्यमन्त्री उपस्थित नभएसम्म छलफलमा सहभागी नहुने भन्दै विरोध गर्नुभएको थियो ।

लगत्तै नेपाली कांग्रेसका सबै सांसदहरुले उठेर विरोध जनाएका थिए । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण बिषयको छलफलमा मुुुख्यमन्त्रीले ध्यान नदिएको आरोप लगाउनुभयो । 

बैठक सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि सहमति जुट्न नसकेपछि संसद सचिवालयले बैठक स्थगित भएको सूचना टाँसेर जानकारी दिएको हो । सांसदहरुकोे पटक पटकको विरोधका कारण प्रदेशसभामा बजेटमाथि छलफल हुन सकेको छैन ।

यस अघि असार ५ गते बजेट‍माथि असन्तुष्टि जनाउँदै सत्ता पक्षकै सांसदहरुका कारण बैठक स्थगित भएको थियो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया