बाँकेकाे नरैनापुरका अधिकांश भारतीय सीमावर्ती गाउँ डुबानमा

 असार ८, २०७६ आइतबार २०:३:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुबानमा परेका छन् ।

दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।

एक सयभन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको अध्यक्ष शाहले बताउनुभयो ।

अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर-१, कट्कुइँयामा रहेकाे वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो ।

घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया