विदेशको कोमामा रहेका सबै नेपालीलाई स्वदेश ल्याएर उपचार गराउने सरकारको तयारी

 असार ९, २०७६ सोमबार १०:१९:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ - सरकारले वैदेशिक रोजगारीको क्रममा गम्भीर चोटपटक लागेर अस्पतालका कोमामा रहेका २८ जना नेपालीलाई स्वदेशमा ल्याएर उपचार गराउने निर्णय गरेको छ ।

वैदेशिक रोजगार बोर्डले करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, यूएई लगायत देशका कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको हो ।

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ । 

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीहरुको संकलित तथ्याँक छानबिन गरेर नेपाल ल्याउने प्रकृया तथा मापदण्डका साथै नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्नेछ । 

यस्तै बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भै स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा बिरामी भै उपचारको क्रममा मृत्यु भएका ११४ जना कामदारका परिवारका नजिकका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सचिवालयले दर्ता भएका निवेदनहरु र सँलग्न कागजातहरुको छानबिन गरी बोर्ड बैठकमा निर्णयार्थ पेश गरेको थियो । ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप  ६ करोड ६६ लाख रुपैयाँ व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया