कुमार पौडेल मारिएको घटनाको छानबिन गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

 असार ९, २०७६ सोमबार १२:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।  

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानबिन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले पौडेलकाे मुठभेडमा नभइ प्रहरीले हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरुलाई कारबाही गनुपर्नेमा सरकार आफैले गलत बाटो लिएको उहाँको भनाइ थियो ।

यता, गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुठभेड नचाहेको बताउनु भएको थियो । उहाँले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताउनुभयो । गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दावी पनि गर्नु भयो ।

गएकाे ५ गते चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्जार्ज पौडेलकाे प्रहरीकाे गाेली प्रहारबाट ज्यान गएकाे थियाे ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया