मेयर अलि अग्लो ठाउँमा चढ्नुपर्छ भनेर टेबलमा चढाए, गल्ती भयो : मेयर नेपाल

 असार ९, २०७६ सोमबार १५:४६:११ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – यतिबेला जनप्रतिनिधिहरुले सलामी लिएको प्रंसगले निकै चर्चा पाएको छ । स्थानीय स्तरमा हुने कार्यक्रममा नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षले कतै पिर्कामा चढेर त कतै टेबलमा चढेर सलामी लिएका तस्बिरहरु भाइरल भैरहेका छन् । 

यसै क्रममा धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले खेल उद्घाटनको क्रममा सलामी लिएको विषयमा सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी आएको छ ।

मेयरले सलामी लिएको भन्दै आलोचना र खिसिट्युरी भएपछि नगरपालिकाले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलको उद्घाटनको अवसरमा असार ४ गते खेलकुद र खेलाडीको सम्मानमा सलामी लिएको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी र स्रोत व्यक्ति पुष्पबहादुर कटुवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा खेलकुदको नियम र प्रचलनअनुसार खेलकुद र खेलाडीहरुको सम्मानमा नगरपालिकाका प्रमुख नेपालले लिएको सलामी विधिवत खेलकुद कार्य भएको उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले खेलकुद प्रतियोगिता सञ्चालक तथा खेलकुद समितिको अनुरोधमा प्लाष्टिकको टेबलमाथि चढेर खेलाडीहरुलाई सम्मानस्वरुप सलामी लिनु भएको थियो । तर प्रेस विज्ञप्तिमा भने मेयरले सलामी दिएको उल्लेख छ । यसबारेमा प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई बुझ्दा सलामी लिने दिने दुवै काम भएको बताउनुभयो ।  

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलको उद्घाटनको अवसरमा गरिएको नियमित कार्यको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा गरिएको अपमानजनक टिप्पणीप्रति महालक्ष्मी नगरपालिकाले दुःख व्यक्त गर्दै यस्ता ‘गलत’ सूचनाको पछि नलाग्न नगरपालिकावासीलाई आग्रह समेत गरेको छ ।

यसैबीच महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले सलामी दिएको सन्दर्भमा सामाजिक सञ्जालमा आएको टिकाटिप्पणीको सामाजिक सञ्जालमार्फत नै प्रतिक्रियालाई आफूले महत्वपूर्ण सिकाइको रुपमा लिएको बताउनु भएको छ । 

‘खेलको उद्घाटन समारोहको क्रममा खेलाडीहरुलाई सलामी लिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार–हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडीलाई सलामी दिने कुरालाई मैले सहज रुपमा लिएर भुइँबाटै हुने कुरा बताए पनि जनप्रतिनिधि मित्रहरु, नजिकै रहनु भएका स्थानीय नागरिक, स्वंयम सेवक, कर्मचारीहरुलगायतले यो चलन रहेको, यसले खेलाडीलाई थप हौसला दिने र यसलाई पालना गर्नु पर्ने कुरा बताएपछि मैले त्यस स्थानबाट खेलाडीलाई सलामी दिएको हुँ’, मेयर नेपालले भन्नुभयो ।

मेयर नेपालले आफूहरु नयाँ भएकाले धेरै कुरा थाहा नभएको र स–साना गल्ती हुन पुगेको बताउनुभयो,  ‘यो घटनाबाट हामी जनप्रतिनिधिलाई सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । खेलको उद्घाटन समारोहको क्रममा स्थानीयले गरेको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको छ । सबै सकारात्मक र नकारात्मक सुझावलाई मैले आगामी यात्राका क्रममा ध्यान दिनु पर्ने पाठको रुपमा लिएको छु ।’ यसबाट महालक्ष्मी नगरपालिकाका नागरिकलाई आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापि नबुझ्न मेयर नेपालले आग्रह गर्नुभएको छ ।

हेर्नुहाेस् नगरपालिकाले निकालेकाे प्रेस विज्ञप्ति

अन्तिम अपडेट: बैशाख ७, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया