वैदेशिक सहायताको ४३ अर्ब शोधभर्ना भएन, भुक्तानी सन्तुलनमा चाप परेको अर्थमन्त्रीद्वारा स्वीकार

 असार ९, २०७६ सोमबार २०:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षमा वैदेशिक सहायताको ४३ अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन समीक्षा बैठकमा विभिन्न आयोजना प्रमुखले ४३ अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको जानकारी दिएका छन् । यो वर्ष वैदेशिक सहायतातर्फ ६३ अर्ब रुपैयाँ शोधभर्ना भने भैसकेको छ । 

बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीय तहबाट हुने खर्चको प्रगतिसमेत समयमै उपलब्ध भएपछि खर्चको यथार्थ प्रतिवेदन तयार हुने बताउनुभयो ।  यसैगरी उहाँले खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै तयार पार्नसमेत निर्देशन दिनुभयो ।

‘वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्ष २०७५-७६ को जेठ मसान्तसम्म उत्साहजनक रुपमा  ६३ अर्ब सोधभर्ना प्राप्त भए पनि अझै ४३ अर्ब सोधभर्ना हुन बाँकी रहेकाले नेपाल सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्बन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्तितर्फ पहल गर्नुहोला’, अर्थमन्त्रीले निर्देशन दिनुभयो ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राख्नेका छन् । 


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया