उपत्यकामा बन्दको आंशिक प्रभाव

 असार १०, २०७६ मंगलबार ७:५९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको छ ।

सार्वजनिक सवारीसाधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामा जस्तै चलेको छ । अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ ।

बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् । काठमाण्डौ उपत्यकामा छोटो दूरीका गाडी पनि कम मात्रै चलेका छन् । बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् । 

यसैबीच ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे निष्क्रिय बनाएको छ । 

गएको साता बिहीबार सर्लाही लखनदेहीमा विप्लव समूहका कुमार पौडेललाई प्रहरीले पक्राउ गरेपछि हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले मंगलबार बन्द आह्वान गरेको हो । 

प्रहरीले भने पौडेल विभिन्न अपराधमा पनि संलग्न रहेको र प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको बताउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया