क्लिन फीड अव्यवहारिक छ, लागू भए व्यवसाय बन्द गर्छौं: केवल टीभी सेवा प्रदायक

 असार १०, २०७६ मंगलबार १८:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केबल टिभी सेवा प्रदायकहरुले क्लिन फीड लागू गरिए नेपालमा केबल व्यवसाय नै धराशयी हुने र व्यवसाय नै बन्द हुने चिन्ता व्यक्त गरेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरकारले सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागू गर्न लागेको आरोप लगाउनुभयाे । 

उहाँले भन्नुभयाे,‘यही अवस्थामा यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशायी हुन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रसारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशायी बनाउनु हो ।’

उहाँले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको टिप्पणी गर्दै विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफूहरुलाई कुनै आपत्ति नहुने पनि बताउनुभयाे । सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उहाँको भनाइ छ ।

डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले क्लिन फीड विश्वभरि छ भनेर हौवा फैलाइएको बताउनुभयाे । क्लिन फीड लागू भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केबल सञ्चालन गर्न नसक्ने उहाँको दावी छ । उहाँले भन्नुभयाे,‘यदि यो विधेयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’

उहाँले समस्या समाधानको लागि सम्वाद गर्नु सरकारलाई आग्रह गर्दै आफूहरु क्लिन फीडको विरोधि नभएको पनि बताउनुभयाे । उहाँले भन्नुभयाे,‘यसरी हुँदैन, बरु सोलुशन खोजौं ।’ 

नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताउनुभयाे । उहाँले केबल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याइयो भन्दै प्रश्न समेत गर्नुभयाे । 

उहाँले भन्नुभयाे,‘यदि यो विधेयक संसदबाट पारित भएर ऐनका रूपमा आयो भने हाम्रो अरबाैँको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’

उहाँले आफूहरुको ‘अपरेशन कष्ट’ नउठे बन्द गर्ने साथै क्लिन फीड लागू भए नेपालका मिडिया नै मर्ने अवस्था रहेको बताउनुभयाे ।

कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फीड लागू गर्नेबारे सरकारको तयारी नपुगेको अभिव्यक्ति दिँदै आफूहरुले सरकारको विरोध नगरेको पनि बताउनुभयाे । साेमबारदेखि मंगलबार दिउँसो ३ बजेसम्म २४ घण्टाका लागि गरिएको विदेशी च्यानल बन्द रिहर्सलमात्र भएको भन्दैयी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर प्रतिक्रिया मात्रै लिएकाे बताउनुभयाे ।

 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • पदमराज पाण्डे

    June 25, 2019, 8:02 p.m.

    सबै जनाले clean feed नै भनीरहेका छन । याे विधेयक संसदबाट पारित भैइ एेनकाे रूपमा कार्यान्वयन भएपछि पनि उपभाेक्ताले अहिलेकै शुल्कमा विज्ञापन रहित tv channels हेर्न पाउछन कि ? यसैलाइ बहाना बनाएर केबल टिभी सेवा प्रदायकहरु तथा डिस होम संचालकहरूले तीन /चार गुना शुल्क बढाएर उपभाेक्ताकाे ढाड नै सक्ने हुन ? याे बारेमा जानकारहरूले सबै उपभाेक्तालाइ सूचित गराइ दिनु हुन सादर अनुराेध गरिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया