पाकिस्तानलाई किन १९९२ कै इतिहास दोहोरिन्छ जस्तो लागेको छ ?

 असार १०, २०७६ मंगलबार २०:३२:४२ | एजेन्सी
unn.prixa.net

जब विश्वकप क्रिकेट २०१९ का लागि पाकिस्तानी टिमले ‘वि ह्याभ, वि विल’ नारा तय गर्‍यो, यस्तो लाग्थ्यो पाकिस्तानले अतितमा विश्वकप जितिसकेको छ र यस पटक पनि जित्दैछ । 

धेरै मानिसहरु यो मान्छन् कि पाकिस्तानले सन् १९९२ मा गरेकै प्रदर्शन २०१९ मा दोहोर्याउँदैछ । यस पटकको विश्वकपमा पाकिस्तानको रेकर्ड २७ वर्षअघिको भन्दा केही फरक छैन । 

सन् १९९२ मा जस्तै पहिलो ६ खेलका नतिजा २०१९ मा पनि दोहोरियो । सन् १९९२ मा जस्तै आफ्नो दोस्रो खेल जित्नुअघि पाकिस्तान यस पटक पनि वेष्ट इण्डिजसँग हार्न पुग्यो । सन् १९९२ मा जस्तै तेस्रो खेलमा वर्षा बाधक बन्यो ।

सन् १९९२ मा जस्तै पाकिस्तान यस पटक पनि आफ्नो चौथो र पाँचौ खेल हार्यो र छैटौँ खेल जित्यो । सन् १९९२ मा जस्तै प्रतियोगितामा रहिरहन पाकिस्तानलाई आफूले मात्रै बाँकी खेल जितेर पुग्दैन । अरुको खेलमा पनि निर्भर हुनुपर्नेछ ।

संयोगकै सूचीमा एउटा रोचक तथ्य पनि छ । सन् १९९२ मा पनि न्यूजिल्याण्ड पाकिस्तानसँग खेल्नुअघि अपराजित रहेको थियो र यस पटक पनि । बुधबार न्यूजिल्याण्ड पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सन् १९९२ मा र २०१९ मा यति धेरै समानता छ कि पाकिस्तानी प्रशंसकहरु त्यस्तै नतिजाको आशा गरिरहेका होलान् ।

एउटा मात्रै फरक के छ भने त्यतिबेला टिमको कमाण्ड वर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सम्हालेका थिए, यसपटक सरफराज अहमदले सम्हालेका छन् ।

वसीम अकरम के भन्छन् ?

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान वसीम अकरम आइतबार लर्ड्समा भएको दक्षिण अफ्रिकारिुद्धको प्रदर्शन नै आलोचकका लागि गतिलो जवाफ भएको बताएका छन् । उनी पाकिस्तानको पछिल्लो खेलबाट खुशी र आशावादी देखिन्छन् ।

पाकिस्तानी न्यूज नेटवर्क जिओ टीभीसँग कुरा गर्दै उनले जितको भरमा पाकिस्तानी टिमको गल्तीलाई ढाकछोप गर्न नहुने बताए । फिल्डिङमा पाकिस्तानी खेलाडीले थुप्रै गल्ती गरेको उनले बताए । उनले भने, ‘यस प्रतियोगितामा हामीले १४ ओटा क्याच छोडेका छौँ । विश्वकपमा क्याच छोड्ने विषयमा हामी शीर्ष स्थानमा छौँ । यो राम्रो संकेत होइन । यो समस्यालाइै हामीले पार लगाउनै पर्छ ।’

वसीम अकरमसँग दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तानी फिल्डरले ६ ओटा क्याच कसरी छोड्न पुगे भनेर सोधिएको थियो । त्यसको जवाफमा उनले भने, ‘हाम्रा खेलाडी बल नै पर्खेनन् । बल आउनुपूर्व नै उफ्रिए ।’

अहिलेसम्मको प्रदर्शनका फिल्डिङमा भारतीय टिम चुस्त देखिएको छ । भारतले अहिलेसम्म एउटा मात्रै क्याच छोडेको छ ।

आइतबार पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । योसँगै सेमिफाइनल पुग्ने आशा पनि उसले जीवितै राख्यो । तर जितका बाबजुद पनि क्याच छोडेपछि पाकिस्तानी टिमको कडा आलोचना भएको छ । 

‘सरफराज पहिले आऊन्’

वसीम अकरमले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णयको प्रशंसा गरेका छन् । साथै उनले पाकिस्तानका टप अर्डर ब्याट्सम्यानको पनि प्रशंसा गरेका छन् । 

वसीमले भने, ‘पहिले ब्याटिङ गर्ने निर्णय एकदमै ठिक थियो । मैदानमा घाँस थियो तर पिचमा शीत थिएन । पाकिस्तानले ठिक हिसाबले पिचलाई बुझ्यो र ब्याटिङ गर्ने निर्णय गर्‍याे। ओपनर्सले निकै राम्रो खेले । बाबरले पनि राम्रो खेले तर उनले ५० लाई १०० मा पुर्‍याउन आवश्यक छ ।’

उनले इमद वसीमभन्दा पहिले सरफराजले ब्याटिङ गर्नुपर्ने बताउँदै सन् १९९२ को इतिहास दोहोरिनेमा आशावादी रहेको बताए । सन् १९९२ मा पाकिस्तानले इंग्ल्याण्डलाई २२ रनले हराएर विश्वकपको उपाधि जितेको थियो । 

प्रदर्शन नै उत्तर

वसीम अकरम आफूहरुले प्रदर्शनमार्फत नै आलोचकहरुलाईे उत्तर दिन चाहेको बताए, ‘सन् १९९२ मा पनि न्यूजिल्याण्ड हामीसँग प्रतिस्पर्धा गनुअघि एउटा म्याच पनि हारेको थिएन । तर हामीले खेल जित्यौँ । यस पटक पनि उनीहरु अपराजित छन् । मलाई आशा छ कि पहिलेकै इतिहास हामीले दोहोर्‍याउनेछौँ । यसका लागि खेलाडीले सर्वश्रेष्ठ प्रदर्शन गर्नु आवश्यक छ ।’

आइतबार लर्ड्समा भएको खेलमा पाकिस्तानी दर्शकको राम्रो उपस्थिति भएकोमा उनले खुशी पनि व्यक्त गरे ।

-बीबीसी हिन्दीबाट

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया