कहाँ छन् यी हिरो ?

 असार ११, २०७६ बुधबार १२:३५:१२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – नेपाली सिनेमामा एक समय विराज भट्ट, निखिल उप्रेती, जीवन लुइँटेल, आर्यन सिग्देल, राजवल्लभकोइराला,रमित ढुंगानालगायतका अभिनेताहरुकै राज थियो ।

यीमध्ये कुनै पनि अभिनेतालाई लिएर चलचित्र निर्माण गरे सुरक्षित भइन्छ भन्ने निर्माताहरु विश्वास राख्थे । यी अभिनेताहरुले ‘महानायक’ राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, धिरन शाक्य, सरोज खनालजस्ता अभिनेताहरुलाई चलचित्र उद्योगबाट रिप्लेस गरेका थिए । 

विराज, निखिल, रमितलगायतले एक्सन विधामा आफूलाई स्थापित गर्न सफल भएका थिए भने आर्यन, राजवल्लभ, जीवनलगायतले एक्सनसँगै रोमान्टिक विधामा आफूलाई स्थापित गरेका थिए । दर्शकले समेत मन पराएका यी कलाकार मध्ये कोही कलाकारिताबाट टाढिएका छन् त कोही आफैँ चलचित्र बनाउन कस्सिएका छन् । याे हेर्दा नयाँ अभिनेताहरुले उनीहरुलाई चलचित्रहरुबाट बिस्तारै रिप्लेस गर्दै गएको देखिन्छ । 

विराज भट्ट

एकताका नेपाली चलचित्र क्षेत्रमा विराज भट्टको एक्सन मन नपराउने दर्शक कमैै थिए । उनलाई लिएर एक्सन चलचित्र निर्माण गर्न सके सुरक्षित भइन्छ भन्ने विश्वास निर्माता तथा निर्देशकहरुलाई हुने गर्दथ्यो । नेपाली चलचित्र ‘खुकुरी’बाट चलचित्र क्षेत्रमा उदाएका अभिनेता हुन्, भट्ट । उनले चलचित्र ‘खुकुरी’मा सह-अभिनेताको रुपमा काम गरेका थिए । त्यसपछि पनि उनले अरु चलचित्रहरुमा सह-अभिनेता भएर नै काम गरे । 

‘सलाम छ मायालाई’, ‘पाउजु’लगायतका चलचित्रमा उनले सह-अभिनेता भएर काम गरेका चलचित्रहरु हुन् । तर उनले अभिनय गरेका कुनै चलचित्रलाई दर्शकले अपेक्षाकृत साथ दिएनन् । त्यसपछि उनले थारु भाषाको चलचित्र ‘अभागन शुभागन’ मा काम गरे । उनले दर्शकको मन जिते र त्यसपछि नेपाली चलचित्र 'अग्निपथ'मा अभिनय गरे । जुन चलचित्रलाई भने दर्शकले राम्रो साथ दिए ।

चलचित्र ‘अग्निपथ’ले विराजका लागि चलचित्र नगरीमा ढोका खोलिदियो । उनले दर्शकको माया अनि निमार्ता र निर्देशकको विश्वास जिते । 'दुर्गा,' 'मैदान,' 'जीवन दाता,' 'हामी ट्याक्सी ड्राइभर,' 'दादागीरी,' 'हिम्मत,' 'किस्मत,' 'खलनायक,' 'सिलसिला,' 'अग्निज्वाला,' 'इलाका,' 'तकदिर,' 'अर्जुन देव,' 'दोस्ती,' 'नैना रेसम,' 'हिम्मत-२,' 'सपुत' लगायत दर्जनाैँ सफल चलचित्रहरुमा काम गरे ।

नेपाली चलचित्रहरुमा राम्रै प्रशंसा पाइरहेका बेला उनी भोजपुरी चलचित्रमा समेत काम गर्न पुगे । उनी भोजपुरी चलचित्रमा काम गर्न थालेपछि भने नेपाली चलचित्रबाट अस्ताउँदै गए । नेपाली चलचित्रमा हराउँदै गएका विराजको एक्सनलाई भोजपुरी चलचित्रमा भने अत्यन्तै रुचाइयो  । उनी उतै रमाउन थाले  ।

लामो समयपछि उनी चलचित्र ‘जय पर्शुराम’ मार्फत पुन नेपाली चलचित्र क्षेत्रमा फर्किए । तर त्यो समय भने उनले पहिलेको जस्तो जादु चलाउन सकेनन् ।

उनी अभिनित चलचित्र ‘जय पर्शुराम’ले अपेक्षाकृत व्यापार गर्न सकेन । त्यसपश्चात न त उनलाई कुनै चलचित्रबाट अफर नै आयो न त दर्शकले खोजी गरे । अन्ततः उनी आफै चलचित्र निर्माणमा कस्सिएका छन् । अहिले उनले चलचित्र ‘साङ्लो’ निर्माण गरिरहेका छन् । चलचित्रमा मिस नेपाल निकिता चन्दकसँग अभिनेता भट्टले रोमान्स गरेका छन् । 

निखिल उप्रेती

नेपाली चलचित्र ‘पिँजडा’बाट एक्सन हिरोका रूपमा उदाएका हुन्, निखिल उप्रेती । उनको पहिलो चलचित्रलाई नै दर्शकले रुचाए । उनी त्यस समय जोखिमयुक्त एक्सनका कारण पनि चर्चाको कारण बन्न पुगे । त्यही कारण पनि निखिलमाथि लगानी गर्न निर्माता-निर्देशकहरु उत्साहित बने । निखिलले पनि निर्देशक- निर्माताको लगानीलाई डुब्न दिएनन् ।

सुरुवातमा काठमाण्डौमा पढ्दापढ्दै उनी आफ्नो कलाकार बन्ने इच्छा पूरा गर्न भारतको सिने नगरी मुम्बईतिर लागेका थिए । केही समय उनले अमिताभ बच्चनको चलचित्र निर्माण कम्पनी ‘एबीसीएल’का लागि केही चलचित्रमा पनि काम गर्ने अवसर पाए । उनी मुम्बईमा रहेर त्यहाँको चलचित्र निर्माणका विषयमा अध्ययन गरेर नेपाल फर्किएका थिए । निखिल अभिनित पहिलो चलचित्र ‘पिँजडा’लाई दर्शकले रुचाएपछि उनले एकपछि अर्को मौका पाउन थाले । 

निखिलले 'शिवशक्ति,' 'कुरुक्षेत्र,' 'राम लक्ष्मण,' 'अग्निपथ,' 'धड्कन,' 'कर्मयोद्धा,' 'भाइ-भाइ,' 'भाग्य,' 'पापी मान्छे,' 'पाले दाइ,' 'करन अर्जुन,' 'हामी तीन भाइ,' 'आमाको काख,' 'त्रिशूल'लगायत चलचित्रमा काम गरे । उनले चलचित्रमा सक्रिय भएर काम गरिरहेकै बेला त्यस समयकी व्यस्त अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे । त्यसपछि भने उनको चलचित्र यात्रा खस्किँदै जान थाल्यो । दोस्रो विवाह पश्चात उनी केही समय मुम्बई बसे । 

मुम्बई बस्दै आएका निखिलले बलिउड चलचित्रमा अभिनय गर्ने प्रयास नगरेका हैनन् । तर, बलिउड यात्रा उनले सोचेजस्तो सफल बन्न सकेन । उनले त्यहाँ आफूलाई प्रमाणित गर्ने मौका नै पाएनन् । त्यहाँ अवसर नपाएपछि उनी अन्ततः नेपाल फर्किए । उनी नेपाल त फर्किए तर उनलाई नेपाली निर्देशक निर्माताहरुले पत्याएनन् ।

नेपाली दर्शकमाझ आफ्नो पहिचान फेरि पनि स्थापित गर्न भारतीय नागरिक रतन दारुवालालाई निर्माता बनाएर आफू प्रमुख अभिनेता बने र फिल्म निर्देशन गरे । उनको कमब्याकलाई दर्शकले मन पराए । हराएका निखिल फेरि उदाए । उनले थप अवसर पाए । उनले चलचित्र 'लुटेरा,' 'रुद्र,' 'संरक्षण,' 'निर्भय,' 'राधे,' 'भिलेन'लगायतका चलचित्रहरुमा काम गरे । तर, उनले गरेका कुनै पनि चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत साथ दिन सकेनन् ।

त्यसपछि उनले भारतीय लगानीकर्ताकै सहायतामा ‘कमिटमेन्ट ६० आवर’ नामक चलचित्र निर्माण सुरु गरे । तर, त्यो चलचित्र बीचमै अड्किएको छ । निखिलले लगानीको अभाव भएका कारण चलचित्र बीचमै रोक्नु परेको प्रतिक्रिया दिएका छन् । अब त्यो चलचित्र निर्माण हुन्छ या हुँदैन निखिल आफैँलाई पनि थाहा छैन ।

निखिल भने यतिबेला अर्को चलचित्र निर्माणमा कस्सिएका छन् । 

रमित ढुंगाना

अभिनेता रमित ढुंगानाले होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘माया नमार’ बाट चलिचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनलाई एक्सनका साथै रोमान्टिक हिरोका रुपमा दर्शकले निकै रुचाए ।

उनले नेपाली चलचित्र 'हिम्मत,' 'देवर बाबु,' 'जीवनदाता,' 'हंगामा,' 'धड्कन,' 'मृत्युञ्जय,' 'हामी ट्याक्सी ड्राइभर,' 'लभकुश,' 'दुर्गा,' 'मनमा माया,' 'शक्ति,' 'चोर सिपाही,' 'गुरु दक्षिणा,' 'सुन्दर मेरो नाम,' 'दानवीर,' 'तहल्का'लगायतका चलचित्रहरुमा काम गरे । उनले अभिनय गरेका धेरै जसो चलचित्रहरुलाई दर्शकको राम्रै साथ मिल्यो । आफ्नै हेयर स्टाइलका कारण पनि रमित अन्य अभिनेताका तुलनामा केही भिन्न मानिन्थे । तर, उनले लामो समय सफलताको स्वाद चाख्न पाएनन् । 

उनले अभिनय गरेका एकपछि अर्का चलचित्र असफल बन्न थाले । चलचित्रका निर्माता र निर्देशकले रमितको विकल्प खोज्न थाले । चलचित्र क्षेत्रमा आफ्नो करियर धर्मराउन थालेपछि उनी चलचित्र क्षेत्रबाट टाढा हुने निर्णय गर्दै अमेरिका गए । तर, उनी अमेरिकामा धेरै समय अडिन सकेनन् ।

अन्ततः उनी आफै चलचित्र निर्माणमा कस्सिए । उनले सन्देशमूलक चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ निर्माण गरे । त्यो चलचित्र निर्माण गरेपश्चात उनी विभिन्न देश तथा विदेशमा च्यारिटी गर्न थाले । गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश दिने भएका कारण पनि देश विदेशका दर्शकले उनको त्यस कार्यको प्रशंसा गरे ।

चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पछि उनी अभिनयमा फर्किएका थिएनन् । तर झण्डै दुई वर्षको अन्तरालपछि रमित पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । उनले केही समयअघि मात्र एक चलचित्रमा लिखित सम्झौतासमेत गरिसकेका छन् । 

त्यस चलचित्रबाट अभिनेता रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक बुझेको बताइएको छ । सरु राईले निर्माण गर्न लागेको चलचित्रका लागि अभिनेत्रीको खोजी भैरहेको छ ।  कमेडी र एक्सन दुवैलाई चलचित्रमा मसलाका रुपमा प्रयोग गरिने बताइएको छ । यो चलचित्र ‘किराँती इन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण हुन लागेको हो । यो चलचित्र पश्चात भने पुनः आफ्नै चलचित्र निर्माणमा लाग्ने रमितको योजना छ । त्यसपछि उनी ‘पृथ्वीनारायण शाह’नामक चलचित्र निर्माण गर्ने तयारीमा छन् । 

आर्यन सिग्देल

चक्लेटी हिरोको छवि बनाएका अभिनेता हुन्, आर्यन सिग्देल । उनलाई रोमान्टिक फिल्ममा खुबै रुचाइएको थियो । अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘किस्मत’बाट उनले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए ।

अभिनेता सिग्देलको पहिलो खुड्किलो नै उनका लागि वरदान साबित भयो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘किस्मत’लाई दर्शकको राम्रो साथ मिल्यो । यसले पनि अभिनेता सिग्देलको हौसला बढायो । त्यसपछि नेपाली चलचित्र क्षेत्रमा आशा गरिएका अभिनेताका रुपमा आर्यन स्थापित हुँदै गए । उनले अभिनय गरेका चलचित्रहरुलाई दर्शकले रुचाउन थालेपछि निर्माता तथा निर्देशकहरुले आफ्नो लगानी सुरक्षित गर्नकै लागि अभिनेता सिग्देललाई रोज्न थाले । 

उनले अभिनय गरेका 'मौसम,' 'मेरो एउटा साथी छ,' 'फर्स्ट लभ,' 'द फ्ल्यास ब्याक,' 'कोही मेरो,' 'कसले चोर्यो मेरो मन,' 'के यो माया हो,' 'आई एम सरी,' 'के म तिम्रो साथी बन्न सक्छु,' 'महसुस,' 'मधुमास,' 'नोभेम्बर रेन,' 'नाइँ नभन्नु ल ३,' 'क्लासिक'लगायतका चलचित्रहरुले दर्शकको मन जित्यो । नेपाली चलचित्रहरु ‘क्लासिक’ र ‘महसुस’बाट अभिनेता सिग्देलले 'बेस्ट एक्टर'को अर्वाड समेत जित्न सफल भए । नेपाली चलचित्र ‘रुद्रप्रिया’लाई दर्शकबाट अपेक्षाकृत साथ नमिलेपछि अभिनेता सिग्देल केही समय चलचित्र उद्योगबाट नै हराएका थिए । 

उनले २०७१ सालमा आफूलाई अत्यन्तै रुचाउने फ्यान सपना भण्डारीसँग विवाह गरेका थिए ।  त्यसपछि बिस्तारै नेपाली चलचित्र क्षेत्रबाट अभिनेता सिग्देल हराउँदै गए । अन्य निर्माता तथा निर्देशकहरुले पत्याउन छाडे पश्चात भने उनी आफैँ चलचित्र निर्माणमा हौसिए र चलचित्र ‘कायरा’ निर्माण गरे । तर, उनलाई दर्शकको सोचे जस्तो साथ मिल्न सकेन ।

अभिनेता सिग्देल चलचित्र क्षेत्रबाट आफलाई टाढा राख्ने सोचमा थिएनन् । नभन्दै उनलाई निर्देशक विकासराज आर्चायले चलचित्र ‘हजार जुनिसम्म’का लागि अफर गरे । निर्देशक आचार्यले गरेको अफरलाई अस्वीकार गर्ने कुरै भएन । उनी अभिनत चलचित्र ‘हजार जुनिसम्म’को छायाँकन भरखरै सकिएको छ । 

यतिबेला अभिनेता सिग्देल नेपाली चलचित्र ‘चच हुई’ को छायाँकनमा व्यस्त छन् । चलचित्र ‘चच हुई’लाई निर्देशक साम्तेन भुटियाले बनाउन लागेका हुन् । यो चलचित्र कमेडी विधामा निर्माण हुन लागेको बुझिएको छ । निर्माण टिमले आर्यनको अपोजिटमा फाइनल गरिएको हिरोइनको नाम भने गोप्य राखेको छ । 

जीवन लुइँटेल

नेपाली चलचित्र क्षेत्रमा चक्लेटी हिरोका नामले चिनिने अर्का अभिनेता हुन्, जीवन लुइँटेल । उनी नेपाली चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा उदाएका थिए ।

अभिनेता लुइँटेलको पहिलो चलचित्र भने ‘तिर्खा’ हो । चलचित्र ‘तिर्खा’मा काम गर्दा भने उनी निर्देशक निर्माताको नजरमा पर्न सकेका थिएनन् । दर्शकले पनि त्यस चलचित्रलाई खासै रुचाएनन् । तर उनले चलचित्र ‘सानो सांसार’मा निभाएको भूमिकालाई दर्शकले रुचाएका थिए । छोटो भूमिका निर्वाह गरे पनि उनको अभिनय कौशलताको चौतर्फी प्रशंसा भयो । अभिनयलाई जीवन्त बनाउन सक्ने अभिनेताका रुपमा जीवनको नाम अघि आउन थाल्यो ।

सन् २००२ मा मिस्टर नेपालको उपाधि जितेका कारण पनि अभिनेता जीवन लुइँटेललाई धेरैले चिन्थे । मिस्टर नेपालको उपाधिले जीवन लुइँटेलको अभिनय यात्रालाई थप टेवा पुर्‍याएको थियो । चलचित्र ‘सानो संसार’मा सानो भूमिका निर्वाह गरेका लुइँटेललाई नेपाली चलचित्र ‘दीपशिखा’बाट अफर आयो ।

चलचित्र ‘दीपशिखा’मा भने अभिनेता लुइँटेललाई मुख्य भूमिका अफर गरिएको थियो । त्यस अफरलाई अभिनेता लुइँटेलले सजिलै स्वीकार गरे । त्यस चलचित्रमा काम गरेपश्चात उनको कामको थप प्रशंसा भयो । उनले चलचित्र क्षेत्रमा आफूलाई अझ धेरै निखार्दै अघि बढे । 

'मेरो एउटा साथी छ,' 'कसम हजुरको,' 'नसीब आफ्नो,' 'नाइँ नभन्नु ल,' 'म तिम्रो भइसकेँ,' 'अन्दाज,' 'रिदम,' 'नाइँ नभन्नु ल २,' ‘स्टुपिड मन’लगायत झण्डै ६० भन्दा धेरै चलचित्रहरुमा अभिनेता लुइँटेलको मुख्य भूमिका रहेको छ । 

बिस्तारै उनले अभिनय गरेका चलचित्र दर्शकले रुचाउन छोडे । यसै कारण उनी पनि चलचित्र क्षेत्रबाट हराउँदै गए । उनका परिवार पहिलेदेखि नै अमेरिका बस्दै आएका कारण अभिनेता लुइँटेल पनि अमेरिकातिर लागे । उनी हाल अमेरिकामै बसोबास गर्छन् । अब उनको अभिनय दर्शकले हेर्न पाउँछन् या पाउँदैनन् त्यो भने अभिनेता लुइँटेलकै हातमा छ ।

राजवल्लभ कोइराला

अभिनेता राजवल्लभ कोइरालाले पोखराको लोकप्रिय रेडियोे अन्नपूर्णको कार्यक्रमबाट प्रस्तोताका रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । मोडलिङमा निकै रुची भएका कोइरालाले चलचित्रको हिरो बन्ने सपना सान बाट नै देखेका थिए । उनको फिल्मी करियर भने म्यूजिक भिडियोबाट सुरु भएको थियो । उनले गायक कर्ण दासको आवाजमा रहेको ‘भेटिएर छुट्नु भन्दा न भेटिएकै जाती हुन्थ्यो’ बोलको गीतमा अभिनय गरेका थिए ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खी बसे’ हो । पहिलो चलचित्रले नै उनलाई नेपाली चलचित्रको सुपरहिट अभिनेताका रुपमा स्थापित गरिदियो । उनले डेब्यू गरेको चलचित्र ‘पर्खी बसे’ले १०० दिन मनाउन सफल भएको थियो । त्यस चलचित्रमा उनले अभिनेत्री युना उप्रेतीसँग रोमान्स गरेका थिए । त्यसपश्चात पनि उनले धेरै अवसरहरु पाए । पहिलो चलचित्रले राम्रो व्यापार गरेका कारण निर्माता निर्देशकले उनलाई लिएर चलचित्र निर्माण गरे ।

उनले चलचित्र 'छोडी गए पाप लाग्ला,' 'अपवाद,' 'ऋतु,' 'सम्झिदिए पुग्छ,' 'मसान,' 'प्रितिको फूल,' 'हाँसीदेउ एकफेर,' 'पहिलो पहिलो माया,' 'सम्झना,' 'किन लाग्छ माया,' 'सो सिम्पल,' 'पल,' 'फूल,' 'दिवानापान,' 'कसम हजुरको,' 'तिमी मात्र तिमी,'लगायतका चलचित्रहरुमा काम गरेका थिए । तर, पहिलो चलचित्र जस्तो कुनैले पनि अपेक्षाकृत व्यापार गर्न सकेनन् । 

उनले दीपक-दीपाले निर्माण गरेको चलचित्र ‘छ एकान छ’ मा भिलेनको भूमिका निर्वाह गरेका थिए । ‘पर्खी बसे' पश्चात उनले अभिनय गरेका चलचित्रहरुमा ‘छ एकान छ’ मात्र सफल भयो । उनले अभिनय गरेका चलचित्रहरुले अपेक्षाकृत व्यापार गर्न नसकेपछि उनको चलचित्र करियर धरमराउन थाल्यो । उनले अंग्रेजी चलचित्र ‘हाइवे टु धम्पुस’ मा पनि अभिनय गरे । त्यही चलचित्रको सुटिङका क्रममा अमेरिका आउजाउ गरेका उनले आफ्नो कर्मथलो अमेरिका नै बनाए । हाल उनी अमेरिकामै छन् । 

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: फागुन ३०, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया