नैतिकताको आईसीयूमा त्रिभुवन विश्वविद्यालय !

 असार १४, २०७६ शनिबार १२:३२:१६ | जानुका दुवाडी
unn.prixa.net

देशकै सबैभन्दा जेठो र नेपालको शैक्षिक उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको त्रिभुवन विश्वविद्यालय पछिल्लो समय सतहमा छरपस्ट भएका एकपछि अर्को घटनाले नैतिकताको कठघरामा उभिएको छ । 

कहिले कर्मचारी भर्नामा पहुँचवालाका नातागोता र आफन्तहरुलाई जागिर खुवाउन गरिएका प्रयासहरु त कहिले गोल्ड मेडल र प्रमाणपत्रहरु नै किनबेचका समाचारहरु बाहिर आउनुले एकातिर विश्वविद्यालयको शाख त खस्काएको छ नै अर्कोतिर विश्वविद्यालयमा पढ्ने र पढेकाहरुलाई पनि गर्व गर्ने ठाउँ राखेको छैन ।

विश्वविद्यालयमा वास्तविक विद्यार्थी वर्षभरि मिहिनेत गरेर पढ्ने र अर्कोथरि भनसुन गरेर र विश्वविद्यालयका पदाधिकारिहरुलाई घुस खुवाएर नम्बर बढाएर गोल्ड मेडलसम्म प्राप्त गर्नसक्ने अवस्थाले त्रिभुवन विश्व विद्यालयको विश्वसनीयता कति खस्केको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । पैसा लिएर गाेल्ड मेडल दिने र पैसा दिएर गाेल्ड मेडल लिने याे कस्ताे संस्कृति ? परीक्षामा ९ नम्बर ल्याउनेले पैसा दिएर ६९ बनाएर गाेल्ड मेडल लिएर ज्ञान चाहिँ कति नम्बरकाे बाँड्ने हाेला ?

विश्वविद्यालय अध्ययन, अनुसन्धान गर्ने ठाउँभन्दा पनि विकृतिहरुले भरिएको ठाउँ हुन पुगेको छ । देशभरिका लाखौँ युवाहरु र सिंगो देशकै भविष्यसँग जोडिएको विश्वविद्यालयको यस्तो दयनीय र भद्रगोल अवस्था नेपाल र नेपालीका लागि पक्कै पनि सुखद होइन । विगतदेखि नै अनेकौ झमेला र कठिनाइहरु झेल्दै आएको त्रिभुवन विश्वविद्यालय केही सीमित व्यक्तिहरुको स्वार्थको सिकार हुन पुगेको छ । 

त्रिभुवन विश्वविद्यालयको गेट छिर्नेबित्तिकै जताततै झुण्ड्याइएका विभिन्न पार्टीगत र विचारगत संगठनहरुका साइनबोर्डहरु देख्ने जो कोहीलाई पनि यो शैक्षिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भन्दा पनि पार्टीहरुका कार्यकर्ता उत्पादन गर्ने ठाउँ लाग्न सक्छ । हुन त ती सबै साइनबोर्डहरु विद्यार्थीको हक हितको लागि भनेर झुण्ड्याइएका हुन र सम्बन्धितहरुलाई सोध्दा प्रायः सबैले यसै भन्छन् । यो बाहेक विद्यार्थी संगठनहरुले इतिहासमा दिएको योगदान वाचन गरेर ती साइनबोर्डहरुको औचित्य पुष्टि गर्ने प्रयास गरिन्छ । 

तर इतिहासमा प्राप्त योगदान बाहेक वर्तमानमा यी साइनबोर्डहरुको औचित्य पुष्टि गर्ने खासै दरिलो तर्क छैन । विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुका नाममा झुण्ड्याइएका यस्ता साइनबोर्डहरुले विश्वविद्यालयको शैक्षिक वातावरणमै असर पारेको आभास हुन्छ ।  

विश्वविद्यालयमा झण्डा र झोला नबोकी शैक्षिक उद्देश्यले मात्रै आउने प्राध्यापक र विद्यार्थी पनि नभएका होइनन् तर पार्टीको सदस्यताविहीन विद्यार्थी र प्राध्यापक अल्पमतमा छन् । यस्ता स्वतन्त्र व्यक्तिहरुको खासै कदर छैन । कि त तिनीहरु पनि सदस्यता लिन बाध्य छन् कि चुप लाग्न । पार्टीको सदस्यता नलिए न प्राध्यापक कुनै अवसर पाउँछ न विद्यार्थीले नै । 

योसँगै विद्यार्थी संठनहरुका नाममा हुने गरेका अनियमिता, ठेकापट्टा र विश्वविद्यालयको शैक्षिक वातावरणमासमेत खलल पार्ने गरेका समाचारहरु बेलाबेला आइरहन्छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायतका केही प्राध्यापकहरु नै बौद्धिक चोरीको आरोप खेपिरहेका छन । भने अर्कोतिर विभिन्न तहका थेसिसहरु अर्काको हुबहु नक्कल गर्ने र गराउने कार्यमा पनि विभिन्न संकायका जिम्मेवार व्यक्तिहरुको संलग्नता हुँदै आएको कुरा पनि कसैबाट लुकेको छैन ।

यसरी विश्वविद्यालयमा  राजनीतिक र सीमित व्यक्तिको स्वार्थ पूर्तिका लागि गरिने गैरशैक्षिक क्रियाकलापहरुले तत्काल संगठन, पार्टी र केही सीमितहरुलाई फाइदा त होला । तर यसले देशकै शैक्षिक र सामाजिक वातावरणमा कालान्तरसम्म प्रभाव पार्ने निश्चित देखिन्छ ।

सेमेस्टर लागु भएपछि केन्द्रीय क्याम्पसहरु राजनीतिक गतिविधिमा केही कमी भएजस्तो देखिए पनि आंगिक क्याम्पसहरुमा राजनीतिक जात्रा जस्ताको त्यस्तै छ भने केन्द्रीय क्याम्पसमै पनि पूर्ण रुपमा शैक्षिक वातावरण नभएको  सम्बन्धित सबैले भोगेको र अनुभव गरेको कुरा हो । 

यसतर्फ कसैको पनि ध्यान जान सकेको देखिँदैन । दलआबद्ध नेताहरु यस्तो विकृतिलाई पार्टीको सकृयता र सदस्यता वृद्धिको अवसरको रुपमा सदुपयोग गर्न चाहन्छन् भने विश्वविद्यालय प्रशासनले यो समस्या देखेको नदेखेझैं गर्दै आइरहेको छ । 

देशका लाखौ युवाहरुको वा भनौ सिंगो देशकै भविष्यसँग जोडिएको त्रिभुवन विश्वविद्यालयलाई विकृतिमुक्त बनाए मात्र शैक्षिक र अध्ययन अध्यापनका क्रियाकलापहरुमा  केन्द्रित बनाउनतिर सबैको ध्यान जानु आवश्यक छ ।

विभिन्न समूह र व्यक्तिहरुको लाभहानीको हिसाबकिताबले कायल भइ नैतिकताको आईसीयूमा पुगेको त्रिभुवन विश्वविद्यालयलाई स्वच्छ र विशुद्ध शैक्षिक बनाउन सके देशले खोजेको परिवर्तन सजिलै  प्राप्त गर्ने देखिन्छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया