बजेट अभावमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको काम अलपत्र

 असार १७, २०७६ मंगलबार १३:८:३२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतमा स्थापना हुन लागेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र निर्माणको कामा अलपत्र परेको छ । आवश्यक बजेट अभाव हुँदा निर्माण कार्य अधुरै रहेको हाे ।

नेपाल सरकार, उद्योग वाणिज्य महासंघ  र संघको शाखा सुर्खेतको समन्वयमा सुरु गरिएको जडिबुटी संकलन केन्द्र बजेट अभावकै कारण समयमै निर्माण हुन सकेको छैन ।  कर्णाली प्रदेशमा रहेका जडिबुटीहरु संकलन गर्ने उद्देश्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको र उद्योग वाणिज्य महासंघको संयुक्त लगानी र सहकार्यमा वि.सं. २०६८ सालबाट केन्द्र निर्माणको काम सुरु भएको थियो ।

तर सात वर्ष बितिसक्दासम्म पनि निर्माण सम्पन्न भएको छैन । 

२०६८ सालमा सुरु भए पनि बीचमा दुई वर्ष काम रोकिएको थियो । तर बीचमै काम रोकिन पुग्यो । त्यसपछि वि.सं. २०७४ सालभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित फेरि सुरु भएको थियो । २०७४ सालमा काम सक्ने भनेपनि यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।   

वीरेन्द्रनगर–९ को पातालगंगामा आठ कठ्ठा जग्गा लिएर भवन निर्माणको काम भइरहेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बजेट अभावमा काम सम्पन्न गर्न समस्या भएको बताए । ‘विभिन्न  चरणमा बजेट छुट्याएर संकलन केन्द्रको निर्माण काम भएको छ’, अध्यक्ष रावतले भन्नुभयाे, ‘बजेट अभाव भएकाले काम छिटो हुन नसकेको हो ।’ 

सम्झौता हुने समयमा चार करोड लगानीमा सम्पन्न गर्ने भनिए पनि हालसम्म तीन करोड खर्च भइसकेको छ, तर काम भने अधुरै छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अनुसार सरकारको तर्फबाट २ करोड र उद्योग वाणिज्य महासंघको एक करोड १२ हजार खर्च भएको छ ।

संघका अध्यक्ष रावतले संकलन केन्द्रको काम ८० प्रतिशत सकिएको जानकारी दिनुभयाे । जडिबुटी संकलनका लागि दुई वटा भवन निर्माण भएका छन् । निर्माण भएका दुई वटा भवनको भुइँको डिपीसी र फिनिसिङ गर्न बाँकी छ । कार्यालयको लागि बनाउन लागिएको भवन पनि अधुरै रहेको छ । आउँदाे वर्षमा संकलन केन्द्र निर्माणको काम पूरा गरिने अध्यक्ष रावतले जानकारी दिनुभयाे । 

सबैभन्दा पहिले जडीबुटी संकलन केन्द्र स्थापना भएपछि प्रशोधनका कामको प्रक्रिया अघि बढाइने अध्यक्ष रावलले बताउनुभयाे । ‘प्रशोधन गर्नका लागि विज्ञहरुसँग सुझाव लिएर काम गर्ने योजना बनाएका छौँ । जडिबुटी कहाँ कहाँ पठाउने सबै योजना बनाउँछौँ,’ उहाँले भन्नुभयाे, ‘हामीले बजेट अभाव भएर छिट्टै काम सम्पन्न गर्न सकेनौँ । अब आउँदाे वर्षभित्रमा काम सक्ने योजना बनाएका छौँ । संकलन केन्द्र बनाइसकियो भने जडिबुटी व्यवसायीसँग छलफल गरेर संकलनको काम अघि बढाउँछौँ।’

संकलन केन्द्र स्थापना गर्न लागिएको स्थानसम्म विद्युत र सडकको पहुुँच समेत पुगेको छैन । कर्णाली प्रदेश सरकारसंग केन्द्रको काम सम्पन्न गर्नका लागि बजेट माग्ने काम भएको संघले जनाएको छ । 

कर्णालीमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र नहुँदा यहाँका व्यवसायीहरुले उचित मूल्य पाउन सकेका छैनन् । जसले गर्दा बजारिकरणमा समस्या हुने गरेको छ ।  हाल कर्णालीको जटिबुटी प्रदेश नं. ५ को नेपालगञ्जमा संकलन हुुने गर्दछ । कर्णालीमै संकलन केन्द्र नहुँदा जडिबुटी व्यवसायि समस्या छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया