घोराहीमा ५३ जनामा सिकलसेल एनिमिया

 असार १७, २०७६ मंगलबार १९:९:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना थारु समुदायका व्यक्तिमा सिकलसेल एनिमियाको लक्षण देखिएको छ । 

यही असार १२, १५ र १६ गते वडा नम्बर २ को रामपुर, वडा नम्बर ७ को सौडियार र वडा नम्बर १० को नारायणपुरमा ३ सय ४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको हो ।

रामपुर स्वास्थ्य प्रबर्द्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र ४ पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य चौकी सौडियारमा १ सय ३१ जनाको रगत परीक्षण गर्दा १४ महिला र एक जना पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।

वडा नम्बर १० को स्वास्थ्य चौकी नारायणपुरमा १ सय ५७ जनाको रगत जाँच गर्दा १९ जना महिला र ७ जना पुरुष गरी २६ जनामा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाइ छ ।

सिकलसेलको लक्षण पुरुषभन्दा धेरै महिलामा देखिएको छ । महिलाको संख्या ४१ र पुरुषको संख्या १२ रहेको छ । त्यसमा पनि २० वर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ ।

घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलिङ अर्थात प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा इलेक्ट्रो प्रोसिस जाँचका लागि रिफर गरिने संयोजक घर्तीले जानकारी दिनुभयो । बिरामीहरुको उपचार खर्च सबै उपमहानगरले ब्यहोर्ने भएको छ ।।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया