बोधिचित्त बेचेर बेथानका किसानले भित्र्याए ३ करोड

 असार १९, २०७६ बिहिबार २०:२९:२१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सुनापति गाउँपालिकाले २ वटा वडामा व्यवसायिक रुपमा बोधिचित्त खेतीको सुरुवात गरेको छ । पानी कम भए पनि हुने र सोचेभन्दा बढी मनग्य आम्दानी हुने भएपछि गाउँपालिकाले यो खेतीलाई प्राथमिकता दिएको हो । 

सुनापति गाउँपालिका-४ बेथान र वडा नम्बर-५, खनियापानी गरी दुई वटा वडामा पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी बोधिचित्तको खेती सुरु गरिएको हो । बोधिचित्तको दाना बिक्रीबाट सोचेभन्दा बढी रकम आउने भएपछि सुनापति गाउँपालिकाको केही वडाहरुमा स्थानीय किसानहरुले १७ वर्ष अघिदेखि बोधिचित्तको खेती गर्दै आएका थिए ।

सुरुमा बोधिचित्तको बिरुवा स्थानीयहरुले प्रतिबोट ५ हजार रुपैयाँसम्म तिरेर छिमेकी जिल्ला काभ्रेको तिमाल गाउँबाट ल्याएर खेती सुरुवात गरेका हुन् । बोधिचित्तको दाना बिक्री गर्दा एउटै रुखबाट ७५ हजार रुपैयाँदेखि ६० लाख रुपैयाँसम्ममा बिक्री हुने भएपछि किसानहरुको ध्यान अन्य बाली लगाउनुको साटो बोधिचित्त रुख रोप्न थालेका हुन् ।

अहिले किसानहरुले ६० बोटदेखि ६ सय बोटसम्म बिरुवा लगाएका छन् । गाउँमा अहिले झण्डै सात सय घरधुरीले बोधिचित्त बिरुवा लगाएका छन् । बिरुवा रोपेको ३ वर्षमा दाना लाग्न सुरु गर्ने बोधिचित्तको सुरुका केही वर्षमा ठूला दाना लाग्ने र उक्त दानाको मूल्य कम आउने गर्दछ ।

रुख छिपिँदै जाँदा दाना साना लाग्ने भएपछि त्यो रुखको दाना सबैभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । ७ एमएम तिनसुरे एउटा मालाको नेपालमै ८ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बोधिचित्तको दाना नेपालमा भन्दा बढी विदेशमा बिक्री वितरण हुने गरेको स्थानीय दानबहादुर तामाङ बताउँछन् । 

बोधिचित्तको दाना बिक्रीबाट एकातिर किसानले सोचेभन्दा बढी मूल्य आउने र अर्कोतिर बिक्रीको लागि बजार खोजिरहनु नपर्ने भएकाले पनि किसानहरु पछिल्लो समय बोधिचित्त खेतीतर्फ लागेको अर्का किसान नेत्रबहादुर तामाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ, 'म मात्रै होइन गाउँमा पानीको अभाव भएपछि परम्परा खेती गर्दै आएका किसानहरु अहिले अन्य खेतीबाली लगाउन छाडेर बाेधिचित्त खेती मात्रै गर्न थालेका छन् ।' 

बोधिचित्तको साना दानाबाट बनेको माला बुद्ध धर्म मान्ने लामाहरुले मन्त्र जप्नको लागि प्रयोग गर्ने गरेका छन् । यो बाहेक छिमेकी देश चीनमा विभिन्न धार्मिक मठमन्दिर र धनाड्य व्यक्तिहरुको घरमा प्रतिष्ठाको लागि राख्ने गरिन्छ । 

किसानहरुले खेत तथा बारीमा लगाएको बोधिचित्त खरिद गर्न किसानहरुको घरघरमै चिनियाँ नागरिकहरु दाना खरिद गर्न आउने गरेका छन् । दाना बिक्रीबाट यस आर्थिक वर्षमा मात्रै सुनापतिका दुई वटा वडाका किसानहरुले ३ करोड रुपैयाँ बराबर रकम भित्र्याएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, 'ठूलो रुखमा साना दाना लाग्ने र दाना चोरी हुने डरले कतिपय किसानहरुले त एक रातको एक हजार रुपैयाँ रकम नै तिरेर रुखको सुरक्षाकर्मी राख्ने गरेका छन् । बोट रुघ्ने मान्छे फल पाक्नुभन्दा दुई महिना अघिदेखि राख्ने गरिएको छ ।' रुख रुँघ्न गाउँका काम नपाउने व्यक्तिले पनि काम पाउने र अन्यत्रबाट भए पनि मान्छे खोजेर राख्ने गरिएको प्रमुख लामाले बताउनुभयो । 

सुनापति गाउँपालिकाले व्यावसायिक रुपमा खेती गरेका किसानहरुसँग आउने आर्थिक वर्षबाट प्रतिकेजी २५ रुपैयाँ राजस्व रकम उठाउने निर्णय गरेको छ । गाउँपालिकाले किसानहरुलाई आवश्यक पर्ने बिरुवा उपलब्ध गराउने, बजारीकरणको व्यवस्थापन गर्ने कामलाई प्राथमिकताका साथ राखेको छ । 

किसानको आयआर्जनमा वृद्धि भएसँगै गाउँपालिकाले पनि सम्पन्न बन्न किसानहरुसँग प्रति केजी २५ रुपैयाँ राजस्व रकम लिने र त्यो रकम कृषि, पशुलगायतका क्षेत्रमा खर्च गर्ने नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया