लीलाध्वज साहित्य सम्मान दिवसलाई

 असार २१, २०७६ शनिबार ७:५:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गरेका छ । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याएबापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उहाँलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र दिइएको छ ।

उपन्यासकार थापाको ९९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँलाई सम्मान गर्दै लीलाध्वजले नेपाली साहित्यको विकासमा सहयोग गरेका स्मरण गर्नुभयो ।

साहित्यकार दिवसले विश्व परिवेशमा नेपाली कवितालाई अनुवादका माध्यमबाट पुर्‍याएकाले छन्दको राम्रो ज्ञान भएका लीलाध्वजले कवितामा त्यसको प्रयोग गर्ने गरेका र उहाको नामबाट स्थापित पुरस्कार दिवशले प्राप्त गरेकामा सराहना गर्नुभयो ।

प्रा. डा. अभि सुवेदीले नेपाली लोक साहित्य, परम्परागत संस्कृतिको खोजीमा दिवसका कृति केन्द्रित रहेको विचार व्यक्त गर्नुभयो । प्रा. राजेन्द्र सुवेदीले लीलाध्वजका कविता, उपन्यास र व्यङ्ग्य विधामा कलम चलाउने गरेकाले  उहाँको व्यङ्ग्य साहित्य अहिले विश्वविद्यालयमा अध्यापन हुने गरेको जानकारी दिनुभयो ।

पुरस्कृत दिवसले देशको दिगो विकास र समृद्धिका साथै समाजसेवामा साहित्य क्षेत्रलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो । साहित्यकार रामप्रसाद पन्तले नेपाली भाषा, साहित्य र संस्कृतिको उचित संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले साहित्य सेवाले भाषा र राष्ट्रको सेवा गर्ने उल्लेख गर्दै विभिन्न समयमा कवि गोष्ठीलगायत साहित्यक गतिविधि संस्थाले सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

यसअघि प्रा. डा. वासुदेव त्रिपाठी, वाङ्मय शताब्दी पुरुष जोशी र समालोचक प्रा. डा. ताना शर्मालाई याे सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।  

१९७८ सालमा जन्मिनुभएका उपन्यासकार थापाको ‘मन’, ‘शान्ति’, ‘पूर्व स्मृति’लगायत उपन्यास तथा केही कविता प्रकाशित छन् ।  २०१४ साःमा उहाँको ‘मन’ नामक उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । यसैबीच प्रतिष्ठानका अध्यक्ष थापाको नियात्रा सङग्रह ‘समुद्रवारि समुद्रपारि’ विमोचन गरिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया