भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी

कृषिविज्ञ भन्छन् – उपभोक्ताले भारतीय तरकारी बहिष्कार गर्नुपर्छ

 असार २१, २०७६ शनिबार ११:३२:४० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ ।

‘कालिमाटीमा आउने सबैजसो तरकारी भारतकै हो’ कृषिविज्ञ कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘जसमा ९० प्रतिशतसम्म विषादी मिसाइएको छ । स्वास्थ्यका दृष्टिकोणले खान योग्य छैन ।’

लामो समयदेखि अत्याधिक विषादी मिसाइएको तरकारी आइरहेको भए पनि सरकारले बल्ल विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । तर शुक्रबार भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो । 

यसले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ । स्वदेशी किसान मारमा परेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ‘साहसिक कदम’लाई कार्यान्वयन गर्न नसक्नुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फेरि आलोचित बनेको छ ।

‘प्रविधि र पूर्वाधार नपुगेर विषादी परीक्षण स्थगित गरेको भन्नु एउटा बहाना मात्रै हो’ कृषिविज्ञ मदन राई भन्नुहुन्छ, ‘विष हालेको भारतीय तरकारीलाई परीक्षण गरेर रोक्नु र स्वदेशी किसानलाई प्रोत्साहन गर्न सरकार फेरि चुकेको छ ।’

किन रोकियो विषादी परीक्षण ?

काठमाण्डौको कालिमाटीमा अधिकांश तरकारी भारतबाट आयात गरिएको छ । कालिमाटीमा भारतबाट आउने तरकारी सस्तो हुने भएपछि खुद्रा व्यापारीले त्यही किनेर उपभोक्तालाई बेच्छन् ।

भारतको तरकारीभन्दा स्वदेशी र अर्गानिक तरकारी केही महङ्गो हुन्छ । आफ्नो लागत राखेर बिक्री गर्दा स्वदेशी किसानलाई उत्पादन मूल्य उठाउन पनि मुश्किल छ । 

सरकारकै अनुदान र ऋण काढेर तरकारी व्यवसाय गरेर रोजगारी सिर्जना गरे पनि बजार नपाएपछि किसान सरकारसँग रुष्ट छन् । भारतीय तरकारीकै कारण आफूले वर्षौंदेखि दुःख झेल्दै आएको गुनासो किसानले कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणी खनाललाई पटक पटक सुनाउँदै आएका थिए । 

किसानको गुनासो बढ्दै गएपछि कृषिमन्त्री खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गरेर विषादी परीक्षण थाल्ने तयारी गर्नुभयो । यसका लागि असार २ गते राजपत्रमा सूचना प्रकाशित भयो । 

त्यसलगत्तै कृषि प्राविधिकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा भन्सार नाकामा भारतबाट तरकारी बोकेर आएका ट्रकबाट नमूना निकाल्दै विषादी परीक्षण थाले ।

परीक्षणमा प्रायः सबै तरकारीमा विषादी भेटिएपछि नेपाल प्रवेशमा सरकारले कडाइ ग¥यो । विषादी परीक्षणमार्फत भारतीय तरकारीलाई निरुत्साहित गरेर स्वदेशी किसानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य थियो । तर भारतले काठमाण्डौमा रहेको दूतावासमार्फत विषादी परीक्षण रोक्न दबाब दिँदै आयो ।

सुरुमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीलाई मात्रै आएको दबाब प्रधानमन्त्रीसम्मै पुग्यो । ‘आइफा अवार्ड’का कारण आलोचना खेपिरहेको सरकारले सुरुमा यसलाई बेवास्ता गर्दै आएको थियो ।

तर दबाब घट्नुको साटो बढ्दै गएपछि यसै हप्ता बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आएको ठाडो प्रस्तावलाई पारित गरिदियो ।  

सरकारको यो निर्णयबाट उपभोक्ता र किसान निराश भएका छन् । दुई तिहाइ बहुमतको सरकारले भारतीय दुतावासको दबाब पनि खेप्न नसकेको भन्दै सत्तारुढ दलकै नेता कार्यकर्ता असन्तुष्ट छन् । 

यसअघि काठमाण्डौकै कालिमाटीमा सरकारले विषादी हालेको तरकारी फिर्ता पठाउन मेसिन राखेर परीक्षण थालेको थियो । तर त्यतिबेला किसानले सडकमा गोलभेँडा छरेर आन्दोलन गरेपछि सरकार पछि हटेको थियो ।

कालिमाटीमा विषादी परीक्षण गर्ने मेसिन नेपालका लागि नभई भारतकै तरकारी रोक्ने प्रयासका रुपमा सुरु गरिएको थियो । तर भारतबाट कालीमाटीमा तरकारी ल्याउने ‘बिचौलिया’ले सडकमा गोलभेँडा पोखेर विरोध जनाएपछि सरकारले विषादी परीक्षणको काम रोकेको थियो ।

यसपटक सरकारले भारतबाट आउने विषादीयुक्त तरकारी र फलफूल नाकाबाटै फिर्ता पठाउने रणनीतिका साथ परीक्षण थाले पनि सफल हुन सकेन । 
भारतीय किसान विषादी हालेको तरकारी नेपाल पठाउँछन्, आफू नयाँ फलाएर खान्छन् !

भारतबाट आउने अधिकांश तरकारी काठमाण्डौको कालिमाटी बजारमा आइपुग्छ । जहाँ विषादी परीक्षण गर्ने कुनै प्रविधि र संरचना छैन । तरकारी खानका लागि योग्य भए नभएको परीक्षण नै नहुने भएपछि भारतीय किसान अत्याधिक विषादी हालिएको तरकारी नेपाल पठाउँछन् ।

विषादी हालिएको तरकारी नेपाल पठाउँदा उनीहरु आफू भने विषादी नहालेको तरकारी फलाएर खान्छन् । कृषिविज्ञ कृष्ण पौडेलका अनुसार भारतीय बजारमा पनि विषादी हालेकै तरकारी छ । तर सबैभन्दा धेरै विषादी हालिएको तरकारी नेपाल आउँछ ।

‘धेरैजसो व्यवसायिक किसान बेच्नका लागि विषादी हालेर तरकारी फलाउँछन् । विषादी हाल्दा तरकारी राम्रो देखिन्छ भने उत्पादन पनि बढ्छ । तर त्यो खान मिल्दैन’ कृषिविज्ञ पौडेल भन्नुहुन्छ, ‘आफूले खान नसक्ने भएपछि धेरैजसो भारतीय किसान विषादी नहालेर नयाँ फलाएर खान्छन् ।’

भन्सारमा विषादी परीक्षण नहुने भएपछि भारतीय किसानलाई भारतीय बजारभन्दा नेपाल पठाउन सजिलो भएको छ । आफ्नो उत्पादन बिना जाँच सहजै बिक्री हुने भएपछि भारतीय किसानले विषादीको मात्रा पनि बढाउँदै गएका छन् ।

यो भारतीय मात्रै नभई नेपाली किसानका हकमा पनि लागू हुन्छ । नेपाली किसान पनि बजारमा बेच्नलाई एउटा तरकारी र आफू खान अर्को तरकारी उत्पादन गर्छन् । 

तरकारीमा लाग्ने रोग, किराबाट बच्न किसानले मात्राको ख्यालै नगरी विषादी छर्किंदा उपभोक्ताको स्वास्थ्य ग्याष्ट्रिक, अल्सर, बाँझोपन, ब्लड प्रेसर, मधुमेहदेखि ‘जिन क्यान्सर’को जोखिममा परेको छ ।

अब भारतीय तरकारी बहिष्कार गर्नुपर्छ 

उपभोक्ताको स्वास्थ्यसँग खेलबाड भैरहेको तथ्य जान्दाजान्दै पनि भारतबाट आउने विषादीयुक्त तरकारी रोक्न नसकेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भैरहेको छ ।

चार वर्षअघि भारतले नाकाबन्दी गर्दा डटेर सामना गर्ने प्रधानमन्त्री ओली तीन करोड नेपालीको स्वास्थ्य र लाखौँ किसानको जीविकासँग जोडिएको विषयमा पछाडि सर्दा नागरिकमा असन्तुष्टि बढेको हो ।

विषादी परीक्षण नगरेरै आउने भारतीय तरकारी अब उपभोक्ताले बहिष्कार गर्नुपर्ने कृषिविज्ञ मदन राई बताउनुहुन्छ । ‘सरकार लम्पसार परेर विषादी पनि परीक्षण गर्न सक्दैन । यसले नेता र मन्त्री देशका नागरिकप्रति अलिकति पनि जिम्मेवार छैनन् भन्ने देखाउँछ’ कृषिविज्ञ राई भन्नुहुन्छ, ‘अब उपभोक्ता आफैँले भारतीय तरकारी बहिष्कार गर्नुपर्छ ।’

यसका लागि खुद्रा व्यापारी र उपभोक्ता आफैँले विषादी परीक्षण गर्ने मेसिन किनेर विषादी जाँच गर्नुपर्ने राईको भनाइ छ । यसले भारतीय तरकारी निरुत्साहित गर्ने र स्वदेशी किसानले उत्पादन गरेको अर्गानिक तरकारी खान सकिने उहाँले बताउनुभयो ।

‘सरकारले किसानको जीविका र नेपालीको स्वास्थ्यसँग खेलबाड गर्छ भने उपभोक्ता अर्थात् हामी आफैँले कदम उठाउनुपर्छ’ कृषिविज्ञ राईले भन्नुभयो, ‘भारतीय तरकारी र फलफूल बहिष्कार गरियो भने नेपाली उत्पादनले बजार पाउँछ । स्वास्थ्य पनि जोगिन्छ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • sandesh

    July 7, 2019, 6:37 a.m.

    Only fake reference is given here. "90% of poisionous" it has no any meaning rather than in propogandist journalist dictionary. Have you ever analyzed the governments capacity on operating labs in six different points and large number of sampling each day? If not as the journalist profile given here you are a scum writing in politics heavily and less on agriculture.

  •  0 Reply

तपाईको प्रतिक्रिया