पलाँताको बजेटः खानेपानीमा १४ करोड, माध्यमिक शिक्षा निःशुल्क

 असार २१, २०७६ शनिबार १४:२३:३४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ६२ करोड ४२ लाख १४ हजार ८ सय ६१ रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ । 

तोकिएको समय अवधिभन्दा ढिलो आएको बजेटले स्थानीय समस्याहरुको समाधान खोज्ने गाउँपालिका-४ का अध्यक्ष ऐनराज महताराले बताउनुभयो । गाउँपालिकाले आवश्यता र भूगोलका आधारमा बजेट तथा कार्यक्रम ल्याएकाले स्थानीय खुशी भएको गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपानेले दावी गर्नुभयाे । 

गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छतातर्फ १४ करोड बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँताती कान्छाले बताउनुभयो । यही वर्षभित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिनुभयो । पलाँताका दुई हजार चार सय घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने गाउँपालिकाले लक्ष्य लिएकाे छ । 

माध्यमिक शिक्षा निःशुल्क 

गरिबीको चर्को मार खेपिरहेको पलाँता गाउँपालिकाले माध्यमिक शिक्षा निःशुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । पलाँतामा २९ वटा आधारभूत विद्यालय र छ वटा माध्यमिक विद्यालय रहेका छन् । यही वर्षभित्र गाउँपालिकाले पलाँता-९ थिर्पुमा शहीद स्मृति नमुना आवासीय विद्यालय, पलाँता-२ को सरस्वती माध्यामिक विद्यालयमा कृषि शिक्षा र देउली मावि उखाडीमा भेटेनरी शिक्षा सञ्चालन गर्ने भएको छ । 

आफ्नै सार्वजनिक यातायात 

गाउँपालिकाले सार्वजनिक यातायातलाई सुरक्षित र सहजताका लागि चार ठाउँमा सडक विस्तार गरेको छ । बेल्के ढुंगा मोहर पुलाँहा छलाह सडकको १५ कि.मि, मोहोर सैन लोडे २ कि.मि, बेल्केढुगा वडा कार्यालय हुँदै दुर्सि फागोटी ४ कि.मि र ओदी काँद छलाहाँ सडक ११ कि.मि ट्रयाक खाेल्ने काम सम्पन्न भएको प्राविधिक प्रमुख पदमबहादुर शाहीले बताउनुभयो । 

गाउँपालिकाले सार्वजनिक यातायात सेवाका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले बेल्के ढुंगा मोहर पुलाँहा छलाह सडकमा अब आफ्नै गाडी गुडाउने भएको छ । १५ कि.मि ट्रयाक खोलिएको सडकमा गाडी गुडेपछि ५ घण्टाको उकालो बाटोमा स्थानीय भारी बोक्दै पसिना चुहाँउदै हिँड्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

१५ शैयाको अस्पताल 

पलाँता-९ थिर्पुमा यही वर्षभित्र १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले १ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यस्तै पलाँता-४ को कयरदेवमा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेदिक अस्पताल सञ्चालनमा ल्याउने गरी बजेट तथा कार्यक्रम ल्याएकोे गाउँपालिका अध्यक्ष बमले बताउनुभयो । 

जनयुद्धका घाइतेलाई पनि बजेट

सशस्त्र युद्धका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरुका लागि जीवन निर्वाहका लागि गाउँपालिकाले ४४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । सामान्य युद्धका घाइतेहरुलाई गएको वर्षको बजेटबाट सम्बोधन गरिएको र गम्भीर प्रकृतिका घाइतेहरुका लागि यो वर्ष गाउँपालिकाले सम्बोधन गरेको छ । 

एक परिवार १० बिरुवा 

गाउँपालिकाले एक परिवार १० बिरुवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुख्खा र खडेरीले ग्रस्त पलाँतामा हरियाली बनाउन कार्यक्रम ल्याइएको वडा५ का अध्यक्ष वीरबहादुर बमले बताउनुभयो । एक परिवार १० बिरुवा कार्यक्रमका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया