थाइल्याण्डको फुकेटमा नेपाली पर्यटन प्रबर्द्धन

 असार २१, २०७६ शनिबार १७:३२:२४ | रासस
unn.prixa.net

फाइल तस्बिर

थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेटमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रबर्द्धनात्मक कार्यक्रम आयोजना गरिएकाे छ । 

बैंककमा रहेकाे नेपाली दूतावासले फुकेटमा रहेकाे नेपाली अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घको सहयोगमा गरेको कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अथाह अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको जानकारी दिनुभयो । 

ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, खानी तथा खनिजजन्य उद्योगमा प्रविधि हस्तान्तरणसँगै लगानी गर्न थाइ उद्यमी व्यापारीलाई राजदूत ढकालले आग्रह गर्नुभएको बैंककमा रहेकाे नेपाली दूतावासले जनाएको छ । 

थाइ विमान कम्पनीलाई उहाँले धार्मिक पर्यटन प्रवर्द्धनमा लाग्न सुझाउँदै निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सम्पर्क कायम गर्न आग्रह पनि गर्नुभयो । 

अवैतनिक वाणिज्यदूत प्रनी साकुलपिपातानाले नेपालका पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न आफ्नो देशका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो । थाइल्याण्डका उच्च सरकारी अधिकारी, उद्यमी, लगानीकर्ता, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा नेपालका मौलिक कला -संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया