‘संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले चलाइरहेको छ ?’

 असार २५, २०७६ बुधबार १६:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाको रुपमा सीमित हुँदै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाको रुपमा सीमित भएको र संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको हो । प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुशरण गरेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाको रुपमा सीमित रहेको छ । सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिनप्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ  भन्ने कुरालाई पुष्टि गरेको छ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।’

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौँ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभयो सभामुखले त्यही कुरा मान्नुभयो । कम्तीमा हामी एकजना सांसदले कुरा राख्छौँ भन्दा कुरासमेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाहिँ आदेश पालना गरे जस्तो भयो । हिजोको बैठकमा मन्त्रीले भन्नुभयो ‘म संसदीय समितिको सामना गर्न तयार छु ।’ सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । बनाउँछु ।’ तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ । आफै पोजेटिभ भएको छानबिन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाइरहेको छ ?’

सांसद थापाले सर्लाहीका दुई भिन्न–भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पार्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छानबिन समिति गठन हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर उभिइरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया