विषादी प्रकरणमा मलाई पनि झुक्याइयाेः प्रधानमन्त्री ओली

 असार २६, २०७६ बिहिबार १४:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण नेपाली जनताको सामु लज्जित हुनु परेको बताउँदै माफीसमेत माग्नु भएकाे छ ।  

बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।

‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास भएङ्काे तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्‍याे, त्यसप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीले बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताउनु भयो । 

‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु ।' तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘धन्य छ, मिसन पत्रकारिता ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोहोर्‍याउनु भयो । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताउनु भयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया