कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको?: मन्त्री बाँस्काेटा

 असार २६, २०७६ बिहिबार १७:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नुभएको हो । संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनी प्रश्न पनि गर्नुभयो ।

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परेर बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो । त्यसै घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाउनु भयो ।

मन्त्री बाँस्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याउनु भयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यस हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानबिन गर्दैमा समस्या समाधान नहुने दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया