सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न: हिंसाबारे कांग्रेसको धारणा दिनभरि बीपी रातभरि विप्लव हो ?

 असार २६, २०७६ बिहिबार १८:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली कांग्रेसले हिंसात्मक गतिविधिबारे आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताउनु भएको छ ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपाका हिंसात्मक गतिविधिलाई काखी च्यापेको आरोप लगाउनु भएको छ । मन्त्री बाँस्कोटाले प्रश्रय दिँदै जाँदा हिंसाले घेराबन्दी गर्ने र त्यसबाट कोही पनि उम्किन नसक्ने स्थिति उत्पन्न हुने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले भन्नुभयो,‘यदि हिंसाका बारेमा कांग्रेसको दृष्टिकोण के हो ? प्रहरी मारिने कुरा, नागरिक मारिनेजस्ता  हिंसात्मक कुरा र निषेधको राजनीतिलाई समानान्तर ढंगले हेर्ने कांग्रेसको आधिकारिक धारणा हो भन्ने त लाग्दैन तर प्रवक्ताले नै भनेपछि त होला । यदि हो भने दिनभरि बीपी रातभरि विप्लव हो ? के हो ? मान्छे मारेको होइन ? सरकारी सुरक्षा मारेको होइन ? निषेधको राजनीति भन्या चाहिँ के । नेपालको संविधानले शान्तिपूर्ण रुपमा जम्मै थोक गर्न दिएको छ त । जबरजस्ती हत्या हिंसा लुटपाट त्रास र एउटा अस्थिरता र अँध्यारोको दुष्चक्रमा हाल्ने कुरामा कांग्रेसले बेलैमा स्पष्ट हुनैपर्छ ।’

मन्त्री बाँस्कोटाले बारम्बार हिंसालाई स्थान दिन नहुने बताउँदै बेलैमा कांग्रेसले आफ्नो स्पष्ट धारणा के हो सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले पनि यस्तै घटना भएको हुन् कहिले दरबारका नाममा, कहिले कांग्रेसका नाममा र कहिले एमालेका नाममा तत्कालीन माओवादीले खेलेकै थियो, अहिले फेरि त्यसमा रमाएर जानुको औचित्य छैन । हिंसासम्बन्धी नेपाली कांग्रेसको धारणा के हो ? यो बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा एकदम वैध हो ? कांग्रेसको आँखाले के ठहर गर्छ ? यो गम्भीर प्रश्न त्यतैतर्फ एकपटक सोध्नुपर्छ । हिंसा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन । हिंसा सर्वत्र घृणाजन्य र भर्त्सनायोग्य हुन्छ ।’ 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया