पाल्पाकाे अस्पतालबाटै हराएको नवजात शिशु स्याङ्जामा भेटियो

 असार २८, २०७६ शनिबार ११:४९:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – शुक्रबार  पाल्पाकाे एक अस्पतालबाटै हराएको नवजात शिशु स्याङ्जामा भेटिएको छ । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले स्याङ्जाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

बच्चा चोरेर भागेकी गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, मा रहेको नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्राधिकरणमा नै ज्यालादारीमा काम गर्ने पाण्डेले शुक्रबार दिउँसो ३ बजे तानसेन–९, मदनपोखराकी जमुना रानाको बच्चा चोरेर भागेकी थिइन् ।

नियन्त्रणपछि नवजात शिशु र चोरी गर्ने पाण्डे दुवैलाई पाल्पातर्फ लगिएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पताल भित्र विमला पाण्डेलाई बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।

प्रहरीले बच्चा हराउनेबित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटासहितको टोली महिला र बच्चा भएको कालीगण्डकी गाँउपालिकामा आइपुगेको थियो । पाण्डेले चोरेर स्याङ्जा ल्याएको नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

अन्दाजी ५० वर्षीया पाण्डेका यसअघि नै दुई छोरा र दुई छोरी रहेका छन् भने श्रीमान पहिले नै बितिसकेको बताइएको छ । श्रीमानको निधनपछि घरायसी सम्बन्ध राम्रो नभएकी पाण्डेले वच्चा चोर्नुको कारण स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ ।

पाण्डेको स्वास्थ्यमा त्यस्तो कुनै मानसिक समस्या भएको नभेटिएको स्थानीय पत्रकार टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस् 

सुनियोजित रुपमा अस्पतालबाट शिशु चोरियो : प्रहरी

अस्पतालबाटै शिशु चोरेर भाग्ने महिला सीसीटीभीमा देखिइन्

जन्मिएको केही घण्टामै अस्पतालबाटै शिशु गायब

अन्तिम अपडेट: चैत ७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया