नेपालले आफ्नाे नागरिककाे सुरक्षा गर्न सीमा क्षेत्रमा बाँध बाँध्नुपर्छ: राजपा नेता झा

 असार २८, २०७६ शनिबार १७:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवं प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाउनुभएको छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा अध्यक्ष मण्डलका संयोजक झाले भन्नुभयाे, ‘हामीले गर्नुपर्ने काम चाहिँ हामी गर्दैनौँ अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले केन्द्रीय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’

सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ राखेको बताउँदै बस्नेतले आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने पनि जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढी, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पार्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौँ । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’

सरकारले बाढी तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा ढिलाइ गरेको उहाँको गुनासो छ । ‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ, ढिला भैसक्यो, २० दिनपछि राहत दिएर हुँदैन,’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया