विनोद भण्डारीको अर्धशतकमा नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य

 असार २९, २०७६ आइतबार ९:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १७४ रनको विजयी लक्ष्य पेश गरेको छ । 

छैटौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतकीय पारी खेलेपछि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको ठूलो योगफल बनाउन सकेको हो । भण्डारीले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

किनरारा ओभल मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आइतबारको खेलमा कप्तान पारससँग युवा ब्याट्सम्यान पवन सर्राफले ओपनिङ गरेका थिए । यो जोडीले ३४ रनको साझेदारी गरेको थियो । पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउटको शिकार भए । 

छैटौँ ओभरको दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस क्रमसः ७ र २३  रनमा आउट भएपछि नेपाल ४२–३ को कठिन स्थितिमा पुगेको थियो । 

यू–१९ कप्तान रोहितकुमार पौडेल र अनुभवी शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको ठोष साझेदारी गरेपछि नेपालको पारी उकासियो । रोहित २३ बलमा १९ रन बनाएर आउट भए । 

त्यसपछि आएका विनोद भण्डारीसँग मिलेर शरदले थप २९ रनको साझेदारी गरे । शरद २८ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएर आउट भए । 

विनोदले करण केसीसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए । करणले १० बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे । विनोदले सोमपाल कामीसँग सातौं विकेटका लागि २३ रनको अविजित साझेदारी गरेका थिए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । सइद अजिज र सुव्रिम मुनिन्देले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया