नारायण नगरपालिका कार्यालयमा छड्के गर्दा झण्डै आधा कर्मचारी गयल

 असार २९, २०७६ आइतबार १९:८:२ | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिका कार्यालयको आकस्मिक हाजिरी छड्केमा आधा जति कर्मचारी गयल परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले आइतबार गरेको छड्केमा ३ जना छैटौँ तहका अधिकृत र ८ जना कार्यालय सहयोगीहरुसमेत २९ जना गयल भेटिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिनुभयो ।

जम्मा ६६ जना कर्मचारी रहेको एउटै कार्यालयमा आर्थिक वर्षको अन्तिम समयमा झण्डै आधा कर्मचारी गयल भेटिनुलाई आश्चर्यको रुपमा लिइएको छ । 
कर्मचारी हाजिरी रजिष्टरमा बिदा पनि नदेखाइ बस्ता अनुगमनको काज देखाउन सकिने लोभमा कर्मचारीले हाजिरी नगरी बसेका सेवाग्राहीकाे बुझाइ छ । २३ वर्ष अघि स्थापना भएको जिल्लाको पहिलो नगरपालिकामा छड्के हाजिरीमा यति धेरै कर्मचारी गयल भेटिनुले राजनीतिक प्रभावमा जागिर खाएका कर्मचारीहरु रहेकाे भन्ने जनगुनासोलाई पुष्टि गरेको छ ।

बिनासूचना कार्यालयमा गयल कर्मचारीको नामावलीसहित लिखित स्पष्टीकरण लिन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेशम बुढालाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी बासकोटाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया