विद्यालयमा कोट र टाइ नलगाउँदा प्रधानाध्यापकबाटै कुटिए शिक्षक

 असार ३१, २०७६ मंगलबार ८:५२:५६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले कुटपिट गरेका छन् । गएको आइतबार विद्यालयमा टाइ र कोट नलगाएको निहुँमा विद्यालयका प्रधानाध्यापक रमेश आलेले कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताउनुभयो ।

आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । अधिकारीले भन्नुभयो, ‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थेँ भोलिपल्ट विद्यालय समयमा लगाएर आउथेँ, आइतबार खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाएकोे खबर आयो । त्यसपछि म प्रधानाध्यापकको कोठामा गएँ । उहाँले मलाई खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो । म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा उहाँले मलाई कार्यालय बाहिर ल्याएर कुटपिट गर्नुभयो ।’

यो भन्दा अघि पनि पटक–पटक विभिनन बाहानामा प्रधानाध्यापकले धम्की दिने गरेको बताउनुभयो । अधिकारीले आफूलाई गालामा र ढाडमा कुटपिट गरेको बताउनुभयो ।

अधिकारीले न्यायका लागि शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जीफन्टलाई बोधार्थमार्फत लिखित निवेदन दिनुभएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखि पठाएको बताउनुभयो ।

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका –१ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि यो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आउनुभएको थियो । आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताउनुभयो । उहाँले विद्यालयले आफ्नो एक महिनाको पारिश्रमिक नै नदिई विद्यालयबाट निकालिएको बताउनुभयो ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन ‘प्याब्सन’का भोजपुर अध्यक्षसमेत रहेका विद्यालयका प्रधानाध्यापक आलेले अधिकारीलाई सम्झाएको, उसले पाउने पारिश्रमिकको चेक बनाएर दिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘शिक्षक अधिकारीले अनौठो व्यवहार गरेको र अभिभावकहरुबाट आएको गुनासोका कारण आफूले सम्झाइ बुझाइ गरेको हुँ ।’

नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले एउटा श्रमजिवीमाथि कुटपिट हुँदा आपत्ती जनाउनुभएको छ । उहाँले घटनाको सत्यतथ्य जाँच गरी समाधानको बाटो पहिल्याउनुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया