ललितपुरमा वर्षाको प्रभाव : विद्यालय बन्द, यातायात अवरुद्ध

 असार ३१, २०७६ मंगलबार १०:४१:१३ | रासस
unn.prixa.net

ललितपुर – निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् ।

यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा यहाँका ४०० घर डुबानमा परि करिब एक हजारदेखि एक हजार २०० मानिसको जीवन प्रभावित भएको महालक्ष्मी–४ का वडाध्यक्ष लक्ष्मण रोक्काले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकाभित्र कुनै मानवीय क्षति भएको छैन तर वडा नं ७ देवीचौरका १२ घरपरिवार पहिरोमा परी विस्थापित भएका छन् । देवीचौरका १२ घरपरिवारलाई त्यहाँ गएर खाद्यान्न वितरण गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

दक्षिण ललितपुरका वनपाखामा डोजर लगाएर सडक निर्माण गरेका कारण यहाँ बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । तीन दिनदेखि यातायात सडक अवरुद्ध भएका कारण टीकाभैरवदेखि तीनपाने भञ्ज्याङसम्म १३ किलोमिटरको सडक खुलाइएको वाग्मती गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।

लोप्चनले भन्नुभयो, 'यहाँ दुई जनाको ज्यान गएको छ, सडक अवरुद्ध भएका कारण कति घर पहिरोमा परे भन्ने तथ्याङ्क सङ्कलन गर्न मिलेको छैन ।' यो गाउँपालिका वारपार गर्ने मुख्य सडक कान्ति लोकपथ पूरै ठप्प भएको लोप्चनले जानकारी दिनुभयो । हेलिकप्टरबाट बिरामी काठमाण्डाै ल्याउनुपर्ने बाध्यता भएको लोप्चनले बताउँदै भन्नुभयो, 'सामाजिक सञ्जाललगायत टेलिफोन सेवा अवरुद्ध भइ ढुङ्गेयुगमा पुगेको महसुस भएको छ ।'

कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य सरह एकदमै नाजुक बनेको छ । यहाँ दुई जनाको ज्यान गएको छ । तीन दिनदेखि अवरुद्ध भएको सडक दुई दिनपछि खुलाउने योजनामा अघि बढेको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिनुभयो ।

महाँकाल गाउँपालिकाभित्र पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । यो गाउँपलिकाभित्रको विद्युत् प्रवाहमा समस्या परेका कारण कोहीकसैसँग सम्पर्क गर्न सकिएको छैन । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार दक्षिण ललितपुरका मानिस पैदलयात्रा गरी चापागाउँ बजार आउने क्रम दिनानुदिन बढेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल अनि वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया