बाढीबाट बच्न बघिनीले घरमा शरण लिएपछि...

 साउन ३, २०७६ शुक्रबार १८:१८:३६ | एजेन्सी
unn.prixa.net

भारतको असम राज्यमा रहेको काजिरंगा राष्ट्रिय निकुञ्जमा बाढीका कारण अहिलेसम्म ९२ वन्यजन्तु मरिसकेका छन् ।

बाढीमा हात्ती, मृग, गैंडालगायतका जीवले आफ्नो ज्यान बचाउँदै गरेका तस्बिर सञ्चार माध्यममा प्रकाशित भएका छन् ।

तर यही राष्ट्रिय निकुञ्जमा आएको बाढीबाट बच्नका लागि एउटा बघिनीले स्थानीयको घरमा शरण लिएको समाचार सार्वजनिक भएको छ । 

वाइल्ड लाइफ ट्रस्ट अफ् इण्डियाका अनुसार बिहीबार बिहान यो बघिनी राष्ट्रिय निकुञ्जबाट २ सय मिटर पर रहेको राजमार्गमा देखिएकी थिइ । राजमार्गमा गाडीको चाप भएका कारण बघिनीले घरमा शरण लिएको हुन सक्ने निकुञ्जका अधिकारीले जनाएका छन् । 

उद्धार दलका सदस्य रथीन बर्मनका अनुसार त्यो बघिनी स्थानीय समयअनुसार बिहान साढे ७ बजे एउटा घरमा पसेकी थिइ । उ त्यही घरको एउटा कोठामा दिनभर सुतेर बसी ।

बर्मन भन्छन्, ‘उ धेरै नै थाकेकी थिइ । त्यसैले होला दिउँसभर सुतेर बसी । राम्रो कुरा यो रह्यो कि उसले कसैलाई नोक्सान पुर्‍याइन । यस क्षेत्रमा वन्यजन्तुप्रति सम्मानको भाव रहेको छ ।’

घरवालाले के गरे ?

यो बघिनी जुन घरमा पसी, त्यस घरका घरधनी हुन् मोतीलाल । उनी घरनजिकै पसल चलाउँछन् । बिहान घरमा बाघ पसेको देखेपछि परिवारसँगै त्यहाँबाट उनी पसलमा आए ।

रथीन बर्मन भन्छन्, ‘मोतीलाल भन्छन् बघिनीले दिनभर आराम गरेको तन्ना र सिरानी उनले सम्हालेर राख्नेछन् ।’

घरबाट कसरी बाहिर आइ बघिनी ?

घरमा बघिनी पसेको देख्नेबित्तिकै वाइल्ड लाइफ ट्रस्ट अफ् इण्डियाका अधिकारीलाई सूचना दिइयो । वन अधिकारीहरु समयमै पुगेर बघिनीलाई बाहिर निस्कन सजिलो हुने गरी बाटो बनाए । उनीहरुले राजमार्गमा गाडी रोके । सुतिरहेकी बघिनीलाई उठाउन पटाका पड्काए । साँझ साढे ६ बजेतिर बघिनी घरबाट निस्किइ र जंगलतर्फ गइ । 

बरमनका अनुसार उ जंगलतर्फ गइ कि आसपासकै क्षेत्रमा छ भन्ने चाहिँ यकिन भएको छैन ।

युनेस्कोको विश्व सम्पदा सूचीमा परको काजिरंगा राष्ट्रिय निकुञ्जमा ११० ओटा बाघ रहेका छन् । बाढीका कारण अन्य जीव मरे पनि सबै बाघ सुरक्षित रहेका छन् । बाढीका कारण ५४ मृग, सात गैंडा, ६ जंगली सुँगुर तथा एउटा हात्ती मरेका छन् ।

बाढीका कारण भारतको असम तथा बिहारमा अहिलेसम्म १ सय जनाको ज्यान गएको छ । त्यस्तै लाखौँ मानिस घरबारविहीन भएका छन् । 

- बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया