लोक सेवा आयोगकाे विज्ञापनकाे विराेधमा प्रदेश १ मा बन्द आह्वान, १५ जना पक्राउ

 साउन ४, २०७६ शनिबार १२:१६:१४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ -  लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जना पक्राउ परेका छन् ।

संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेको भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले जानकारी दिनुभयाे । इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले स्वीकार गर्नुभयाे ।

लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै 'आरक्षण बचाऔंँ' नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया