भत्ता माग्न जाँदा मृत्यु दर्ताको प्रमाणपत्र !

 साउन ५, २०७६ आइतबार ७:२३:३ | अमर सुनार
unn.prixa.net

दैलेख – भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतिकला खत्री ८२ वर्षकी हुनुभयो । उहाँका श्रीमान् मनिराम खत्री पनि ८४ वर्षको हुनुभयो । उहाँहरु दुवै जनाले ७० वर्ष नाघेदेखि नियमित रुपमा ज्येष्ठ नागरिक भत्ता पाइराख्नुभएको थियो । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भत्ता दिए ।

साउन लागिसक्दा पनि आफूहरुलाई भत्ता किन नदिएको भनेर वडा कार्यालय पुगेपछि उहाँहरुलाई भत्ता होइन, अब कहिल्यै भत्ता नपाउने कागज थमाइयो । त्यस्तो कागज थियो ‘दम्पतीको मृत्यु दर्ता !’ 

मृत्यु दर्ता विवरणमा ज्योतिकलाको २०७५ चैत्र २५ गते र मनिरामको २०७६ वैशाख १० गते निधन भएको व्यहोरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गर्नुभएको छ । अनलाइनबाट पञ्जिकरण गरिने भएकोले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले अनलाइन इन्ट्रि गर्नुभएको खुलेको छ ।

गएको फागुनमा ज्येष्ठ नागरिक भत्ता लिएपछि दुवै दम्पतीले जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–९ थमनियामा बसाइँ सर्न लागेको बताएका थिए । त्यसै अनुरुप चैतमा ती दुवै दम्पतीले वडाबाट बसाइँसराइ मागे । इन्टरनेटको सुविधा गाउँपालिका कार्यालयमा मात्र भएको कारण बसाइँसराइ गराइदिन वडा कार्यालयले गाउँपालिकालाई सिफारिस गर्‍यो ।

त्यही सिफारिसको आधारमा सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले बसाइँसराइ गरेको भनी अनलाइनमा इण्ट्रि गराउनुभयो । तर अनलाइनमा इण्ट्रि गर्दा बसाइँसराइ हुनुपर्नेमा मृत्यु दर्ता जनाएको त्यही विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गर्नु भएको भएको पुष्टी भएको छ । अनलाइनमा इण्ट्रि गर्दा गल्ती भएको सूचना प्रविधि अधिकृत सिंहले स्वीकार गर्नुभयो ।

बसाइँसराइ गर्दा मृत्यु दर्ता कसरी भयो ? यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरुलाई कारबाही गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो । खत्री दम्पतीको विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएको पनि उहाँले जानकारी दिनुभयो । 

चैतमा पेस गरेको बसाइँसराइको कागज किन नदिएको ? असारमा पाउनुपर्ने ज्येष्ठ नागरिक भत्ता नपाएको ? भनेर सोधी खोजी गर्दा शुक्रबार मात्र यो कुरा थाहा भएको ज्योतिकलाकी छोरी नानकला अधिकारीले बताउनुभयो ।

तीन छोरी र तीन छोराहरु सबैले विवाह गरी बाहिरै बस्ने गरेको कारण गाउँमा बस्तै आउनुभएको ज्योतिकला र मनिरामलाई जेठो छोरा पदम खत्रीले आफूसँगै बस्ने गरी बर्दिया बोलाएका कारण उहाँहरुले बसाइँसराइ माग्नुभयो, त्यो बेला उतै पठाइदिउँला भने तर अहिलेसम्म नपाएपछि बसाइँसराइ र भत्ता माग्न जाँदा यस्तो जानकारी आएको नानकलाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाँचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने व्यवस्था गरिने र पछिल्लो ४ महिनाको भत्ता विवरण गलत तथ्यांक भर्ने कर्मचारीलाई तिराउने तयारी भएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया