ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइजलाई

 साउन ५, २०७६ आइतबार १८:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तेस्रो ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतबार भएको फाइनलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । ब्रिगेड ब्वाइज क्लबको जितमा उसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको २३ औं मिनेटमा ब्रिजेस चौधरीले ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाको पासमा पृथ्वी चौधरीले गरेको प्रहार पुलिसका गोलरक्षकले रोकेका थिए । तर, रिबाउन्ड बलमा ब्रिजेसले सानदार गोल गरी ब्रिगेड ब्वाइज क्लबलाई पहिलो हाफमा अग्रता दिलाउन सफल भए ।

दोस्रो हाफमा पुलिसले गोल फर्काउन नसक्दा ब्रिगेड १–० को जित निकाल्दै उपाधि जित्न सफल भयो । उपाधि विजेता ब्रिगेड ब्वाइज क्लबले नगद ३ लाख हात पार्दा उप बिजेता भएको पुलिसले १ लाख ५० हजार पार्‍याे ।

नेपाल पुलिसका विशाल बस्नेत उत्कृष्ट डिफेन्डर घोषित भए । त्रिभुवन आर्मीका विशाल सुनार उत्कृष्ट गोलकिपर र उत्कृष्ट फरवार्ड पनि ब्रिगेड ब्वाइज क्लबकै ब्रिजेश चौधरी घाेषित भए ।

विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गर्नुभएकाे थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया