गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला: रोकिएको निर्माणको काम फेरि सुरु

 साउन ७, २०७६ मंगलबार १७:३७:३३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम मंगलबारदेखि सुरु भएको छ ।

रगंशाला सुरक्षाका लागि लगाइएको बार गएकाे जेठ १५ गते स्थानीयले डोजर लगाएर भत्काइदिएपछि स्थगित भएको निर्माणको काम फेरि सुरु गरिएको हो ।

रंगशाला निर्माणको लागि डीपीआर बनाउने र वातावरणीय प्रभाव मूल्यांकन ईआईए तथा ग्राउण्ड निर्माणको काम भइरहेको थियो । निर्माण सामग्रीहरु संकलन गर्ने काम चलिरहेको समयमा रंगशालाको पश्चिमतर्फको सडक बाटो विस्तारका विषयमा विवाद भएपछि स्थानीयले बार भत्काएका थिए । बार भत्काइएपछि फाउण्डेशनले काम रोकेको थियो । 

ठूलो लगानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रगंशाला निर्माण सम्पन्न गर्न जनस्तरबाट सहयोग जुटाउन लागिपरेको फाउण्डेशनले देश विदेशबाट सहयोग जुटाउँदै आएको थियो । तर, बार भत्काइएको घटनापछि माहोल बिग्रिएको थियो । चितवनका राजनैतिक दल, जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका र स्थानीय सरकारबीच बसेकाे पटकपटककाे बैठकले फाउण्डेशनलाई काममा फर्कन आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगरपलिका प्रमुख रेणु दाहालले असार ४ गते सयुंक्त विज्ञप्ति जारी गरेर फाउण्डेशनलाई काम गर्न अपिल गर्नुभएकाे थियाे । त्यसलगतै फाउण्डेशनले विज्ञप्ति निकालेर काममा फर्कने बताएको थियो ।

मंगलबार बिहानबाट रंगशालाको फिल्ड कार्यालय खोलिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष एवम् कलाकार सिताराम कट्टेलले फिल्डमा गर्न मिल्ने सबै काम सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला स्तरमा गठन भएको सहयोग समितिसँग छलफल गरी फाउण्डेशनले कार्यालय खोलेर निर्माणको काम सुरु गरेको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा ५ हजार १ सदस्यीय सहयोग समिति गठन भएको छ । जिल्ला स्तरमा गठनभएको सहयोग समितिले स्थानीय तहसम्म समिति गठन गर्ने र सहयोग संकलनका लागि माहोल बनाउनेगरी अभियान चलाउने निर्णय भएको कट्टेलले बताउनुभयो । 

‘रोकिएको रगंशाला निर्माणको काम सुरु भएको छ’, कट्टेलले भन्नुभयो, ‘चितवन तातेको छ अa देश तात्नेछ, हामी निर्माण सकेर मात्र फर्कने छौँ ।’

डीपीआरको काम सकेर भदौमा शिलन्यास गर्ने तयारी भए पनि बीचमा देखिएको समस्याका कारण केही समय ढिला हुने बताउँदै उहाँले दशैँसम्म डीपीआरको काम सम्पन्न गर्ने र दुई वर्षभित्र रंगशाला निर्माणको काम सम्पन्न गरिसक्ने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको २० विघा जमिनमा फाउण्डेशनले ३ अर्ब रुपैया संकलन गरेर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागेको हो । २०७५ माघ १६ गते काठमाण्डाैमा प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तलीफाउण्डेशनको बीचमा रंगशाला बनाउने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

२५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्ने लक्ष रहेकाे छ । विश्वस्तरीय प्यारापिटमा बसेर खेल हेर्न सकिने यो रंगशालामा चारवटा ढोका हुनेछन् । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाटनिर्माणभएको पहिलो रंगशाला हुनेछ । रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिंङलगायतको खेल खेल्न सकिने संरचना पनि बन्ने लक्ष राखिएको छ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया