पहिरोले बाटो अवरुद्ध भएपछि सत्यवतीमा राहत लैजान समस्या

 साउन ८, २०७६ बुधबार १४:५८:१३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – सत्यवती गाउँपालिका अन्तर्गत ठूलोलुम्पेक र लिम्घामा सोमबार राति गएको पहिरोका कारण विस्थापित परिवारका लागि खाद्य सामग्री लिएर आउँदै गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितको टोली खराब मौसमका कारण बिहानैदेखि पोखरामा अलपत्र परेको छ ।

सत्यवतीको ठूलो लुम्पेकमा पहिरोबाट विस्थापित भएकाहरुका लागि खाद्यान्न सहितको सामग्री लैजाने तयारीमा रहेको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुल भएका कारण पोखरामै रोकिराखेको परराष्ट्र मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार मौसममा केही सुधार आउनेबित्तिकै राहत लिएर जाने तयारी भैरहेको छ । त्यसैगरी ५ नम्बर  प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि राहत सामग्रीसहित मंगलबार साँझदेखि नै पहिरो प्रभावित क्षेत्र ठूलोलुम्पेकमा रहनु भएको छ ।

सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक र ४ को  लिम्घामा बुधवार राति गएको पहिरोमा पुरिएका १३ जनाव्यक्ति मध्ये अहिलेसम्म नौ जनाको मात्रै शव भेटिएको छ ।

पहिरोमा पुरिएर हराइ रहेका ठूलोलुम्पेक सिग्दीकी ४० वर्षीया माया विक, १६ वर्षीया गबी विक, लिम्घाकी ८ वर्षीया तारा विक र ४ वर्षीया सुमन विक अझै बेपत्ता छन् ।

प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

सत्यवती गाउँपालिकाले सडक सुचारु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया