जापानी भाषा परीक्षा आउँदो कात्तिकमा, जहाँ पायो त्यहीँ भाषा नसिक्नुहोस्

 साउन ९, २०७६ बिहिबार १९:४:२३ | सन्जिता देवकोटा

काठमाण्डौ – नेपाल र जापानबीच गएको चैतमा श्रम समझदारी भयो । समझदारी अनुसार जापानले निर्धारण गरेका १४ वटा कामका क्षेत्रमध्ये अहिलेलाई ‘नर्सिङ केयर गिभर’को काममा नेपाली कामदार लैजाने भएको छ । 

आउँदो कात्तिकमा भाषा र सीप परीक्षण हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान फाउण्डेशनले कात्तिक ११ र १२ मा भाषा परीक्षा तथा २१ र २२ मा सीप परीक्षण सञ्चालन गर्ने मिति आफ्नो वेवसाइटमा राखे पनि मन्त्रालयलाई आधिकारिक मिति तोकेर पत्र नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले बताउनुभयो ।

जापानले लैजाने ‘स्पेसिफाइड स्किलड वर्कर’ का लागि भाषा र सीप दुवै परीक्षा अनिवार्य पास गर्नुपर्छ । नर्सिङ केयरगिभरको काममा जानका लागि भाषा परीक्षामा इच्छुक सबै सहभागी हुनसक्ने ढकालले जानकारी दिनुभयो । 

‘नर्सले मात्र परीक्षा दिन पाउने र उनीहरु मात्र परीक्षाका लागि योग्य हुने होइन, नर्सिङ केयरगिभरको काम भएकाले इच्छुक सबैले भाषा र सीप परीक्षामा सहभागी हुन पाउँछन्,’ उपसचिव ढकालले भन्नुभयो, ‘सीप परीक्षणमा पनि कामसँग सम्बन्धित भाषा नै परीक्षण हुन्छ ।’

आउँदो अप्रिल १ देखि कामदार लाने प्रक्रिया थाल्ने गरी श्रम समझदारी भए पनि कामदार जापान पठाउने सन्दर्भमा अझै पनि धेरै कुरा प्रष्ट हुन बाँकी छ । कहिलेदेखि कामदार लैजाने, कति सँख्यामा लैजाने भन्ने कुरा अझै टुंगो लाग्न बाँकी छ ।

‘अस्पष्ट भएका कतिपय कुरामा हामीले पत्र पठाएका छौं, त्यसमा जवाफ आएको छैन, आधिकारिक जानकारी नआएसम्म हामीले भन्न सक्ने अवस्था छैन,’ ढकालले भन्नुभयो । 

जापानले कामदार लैजान छनोट गरेका क्षेत्रहरूमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, निर्माण उद्योग, सरसफाइ, मत्स्य, हवाई सुरक्षालगायत छन् ।

 जापानले आवश्यक पर्ने नर्सिङ केयरगिभरको काममा नेपालसहित चीन, भियतनाम, फिलिपिन्स, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डानेसिया र मंगोलियाबाट कामदार लैजाने निर्णय गरेको छ ।

नेपाल र जापानबीच श्रम समझदारी हुँदा नेपालका लागि जापानी राजदूत  मासामिची साइगोले नेपाली कामदारले जापानी नागरिक सरह सेवा सुविधा पाउने बताउनुभएको थियो ।

दुई देशबीच हस्ताक्षरको प्रक्रियामा रहेको एमओसी अनुसार कामदार पठाउन म्यानपावर कम्पनीहरू रहने छैनन् । तर अहिलेसम्म कुन संयन्त्रमार्फत कामदार जान्छन् भन्ने कुरा टुङ्गो लागेको छैन । 

जापानमा नेपाली श्रमिकका लागि पाँच वर्षको करार अवधि हुने र उच्च सीप भएका कामदारले समय थप्न सक्ने र परिवार लान पाउने प्रावधान दुई देशबीच भएको समझदारीमा उल्लेख छ ।

जापानमै गएर भाषा प्रशिक्षण लिएकासँग मात्र भाषा सिक्नुहोस्

हिजोआज जापानी भाषा सिकाउने थुप्रै केन्द्रहरु खुलेका छन् । तर अबदेखि जथाभावी भाषा नसिक्नुहोस् । जापानी भाषा सिकाउनका लागि जापानमै गएर प्रशिक्षण लिएर आएका प्रशिक्षक मात्र अबदेखि भाषा सिकाउन योग्य हुनेछन् ।

त्यसका लागि केन्द्रहरुलाई निवेदन दिएर भाषा सिकाउने प्रशिशिक्षकलाई तालिमका लागि पठाउन जापान फाउण्डेशनले आह्वान पनि गरेको छ । 

जापानले सीपयुक्त र उच्च सीपयुक्त कामदार लैजाने भएकाले त्यस्ता कामदारलाई भाषा सिकाउने प्रशिक्षक पनि यसको बारेमा जानकार हुनुपर्ने छ । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पर्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो ।

जापान सरकारले त्यसका लागि गएको सोमबार मन्त्रालयलाई पत्र पठाउँदै जापान गएर एक महिनाको भाषा प्रशिक्षण लिएर आएको शिक्षक मात्र नेपालका तालिम केन्द्रमा पढाउन योग्य हुने जानकारी गराएको छ । जापान जान चाहनेलाई आधारभूत र एन ४ तहको भाषा आवश्यक पर्छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया