रक्सी बेच्न छाड्नेलाई १ लाख २० हजार पुरस्कार !

 साउन १०, २०७६ शुक्रबार १३:३८:५७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँ कार्यपालिकाले रक्सी बेच्न छोड्ने व्यवसायीलाइ १ लाख रकमको पुरस्कार दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

गाउँपालिकाभित्रका जोसुकै रक्सी व्यापारीले रक्सीको कारोबार गर्दिनँ भनेर मदिरा बिक्री वितरण अनुमति पत्र बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट २० हजार रकम थप गरेर जम्मा एक लाख २० हजार दिइने उहाँले बताउनुभयो । रक्सीले गर्दा गाँउघरमा महिला हिंसाका घटनाहरु बढेकाले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँले प्रष्ट पार्नुभयो ।

रक्सीका कारण आफ्नै पतिबाट हिसांमा परेको कुरा लिएर स्थानीय महिलाहरु आफूकहाँ आउने गरेको र आफूले सम्झाउँदा पनि नमान्ने गरेकोले निकै समस्या भइरहेको उहाँले बताउनुभयो । न्यायिक समिति सयोजक भएकाले यस्ता घटनाहरु मिलाउने जिम्मेवारी भए पनि आफूलाई निकै सकस भएको उहाँले गुनासो गर्नुभयो । 

यस्तै गाँउपालिका अध्यक्ष चक्र कार्कीले रक्सीको कारोबार अत्यधिक बढेकाले महिला हिंसा बढ्नुका साथै समाजमा विभिन्न खालका विकृति समेत ल्याएको बताउनुभयो ।

स्थानीय बजारहरुमा मान्छेहरु बिहानदेखि नै रक्सी पिएर ढलिरहेका भेटिने गरेकोले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाँउपालिकाले एक चोटी रक्सी बन्द गरे पनि लुकिछिपी कारोबार झन बढेकाले र पूर्ण रुपमा नियन्त्रण नभएपछि हामीले रक्सी कारोबार गर्न छोड्ने व्यापारीलाई अर्को व्यवसाय सञ्चालन गर्न पैसा दिने योजना अघि सारेका हौँ ।’ 

गाउँपालिकाले दिने १ लाख २० हजारले नास्ता पसल, मासु पसललगायत अन्य व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

दोगडाकेदारमा गाउँपालिकामा अरु पसलभन्दा पनि रक्सी पसल बढी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र सञ्चालित अरु पसलहरु दर्ताबिना नै सञ्चालन छन् । रक्सी पसल भने दर्ता गरेर सञ्चालन भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया