पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गयो :  आफन्त र प्रहरीबीच झडप, ८ घाइते

 साउन १०, २०७६ शुक्रबार १८:१४:५५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ ।

पोखरा–१४, चाउथे बस्दै आएकी ३२ वर्षीया निशाकुमारी थापा (गीता) सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्राव भएको थियो । शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालले अत्यधिक रक्तश्रावकै कारण सुत्केरीको ज्यान गएको बताएको छ ।

आफन्तले भने अस्पतालको लापर्वाहीको कारण नैै सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् । सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापर्वाही गरेकाले ज्यान गएको निशालाई हेरचाह गर्न आएकी बहिनी तारा थापा मगरले बताउनुभयो । 

अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।

अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर सामान्य रुपमा नै बच्चा(छोरा) जन्माएकी थिइन् । निशाले नियमित रुपमै अस्पताल गएर गर्भ परीक्षण गराउँदै आएकी थिइन् । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । सुत्केरीलाई बचाउन भरमग्दुर प्रयास गर्दा पनि ज्यान गएको उपचारमा संलग्न डा पुनले बताउनुभयो । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहबरमा शुक्रबार भएको सामान्य छलफलमा रक्तश्राव निरन्तर भइरहेपछि अन्तिम विकल्पको रुपमा अप्रेसनका लागि सल्लाह गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।

भित्र आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहँदा बाहिर भने चर्को नाराबाजी चलिरहेको थियो । पीडित पक्षको माग सुनुवाइ नभएपछि प्रशासनमा ताला लगाउन प्रशासन पक्षकालाई बाहिर निकाल्ने क्रममा पीडितले पक्षले हातपात गर्न लागेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । अस्पताल परिसरमा आन्दोलनरत पक्ष र प्रहरीबीच केही समय झडप नै भएको थियोे ।

झडपमा परि ४ जना प्रहरी र ४ जना पीडित पक्ष घाइते भएका छन् । पीडित पक्षका शोभाखर पौडेल, विष्णु गुरुङ, नरबहादुर थापा र रमेश थापा घाइते भएका छन् भने प्रहरीतर्फका भिमबहादुर पाण्डे, गणेशबहादुर विष्ट, रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् । त्यही अस्पतालमा उपचार उनीहरुको भइरहेको छ । 

झडपमा संलग्न भएको आरोपमा राजु थापा, अनिल थापा र रामु गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया