अब काठमाण्डौमा बिजुली बस

 साउन १२, २०७६ आइतबार १०:२३:३७ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ– काठमाण्डौ उपत्यकामा अब छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

यो कम्पनीले चीनबाट विद्युतीय बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोवाइल कम्पनीसँग सम्झौता गरिसकेको छ । अब साउनभित्र नै चीनको बीएके ब्राण्डका विद्युतीय बसहरु गुड्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले उज्यालोलाई भन्नुभयो ।

थापाका अनुसार दुई ओटा विद्युतीय बस चीनबाट नेपालतर्फ छुटिसकेका छन् । काठमाण्डौका सडकमा गुडिरहेका बसभन्दा फरक र नेपालको सडक सुहाउँदो बिजुली बस ल्याउन लागिएको अध्यक्ष थापाले बताउनुभयो । 

सुन्दर यातायात प्रालिले यो वर्ष झण्डै २५ ओटा बिजुली बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसका लागि ११ वटा विद्युतीय बसको सम्झौता भैसकेको र बाँकी बसका लागि पनि प्रक्रिया शुरु भैसकेको सुन्दर यातायात प्रालि सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा विद्युतीय बस नेपालका लागि हिँडिसकेका छन् । ती बस नेपाल आइसकेपछि परीक्षण हुनेछ र लगत्तै उपत्यकाका सडकमा विद्युतीय बस सञ्चालनमा आउनेछ ।’ 

सुन्दर यातायातले ल्याउन लागेको विद्युतीय बस यात्रुमैत्री रहेको सञ्चालक समितिका सदस्य पोखरेलले दाबी गर्नुभयो । सुरुवाती चरणमा दुई प्रकारका बस सञ्चालनमा आउनेछन् । ४० सिटे बसमा अरु ३० जना यात्रुले उभिएर नै आरामसँग यात्रा गर्न सक्नेछन् । त्यस्तै ३५ सिटे बसमा पनि अरु २५ जना यात्रुले आरामदायी यात्राको अनुभूति गर्ने सञ्चालक समितिका सदस्य पोखरेलले दाबी गर्नुभयो । 

भित्री बनावट यात्रुमैत्री र सुविधाजनक

सुन्दर यातायातका अनुसार विद्युतीय बसमा भित्र आकर्षक र सुविधायुक्त बनावट हुनेछ । यी बसमा गरिएको सिट व्यवस्थापनले पनि यात्रुलाई आकर्षित गर्दछ । प्रायः नेपालको सडकमा गुड्ने बसमा अगाडिको भागलाई नै महत्व दिइन्छ र सिटको व्यवस्थापन पनि त्यसैगरी हुने गरेको छ ।

यी बसमा भने पछाडिको भागलाई महत्व दिँदै धेरै सिट पछाडि भागमा छन् । ‘यसले सिटमा नै बस्न खोज्नेहरु पछाडि जान्छन् र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिन्छ । अगाडि भागमा आरक्षित सिट हुनाले पनि भीड पनि कम नै हुनेछ’ सदस्य पोखरेलले भन्नुभयो । यी बसमा गरिएको सिट व्यवस्थापनले यात्रुको चापलाई नियन्त्रण गर्न मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ । 

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकन्डिसनको सुविधाले पनि यो बस अझ यात्रुमैत्री देखिएको छ । 

त्यस्तै उभिएका यात्रुलाई समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेर र उचाइका यात्रुलाई सहज हुने कम्पनीको दाबी छ । कम्पनीकाअनुसार बसको सिटसँगै डस्टबिन पनि राखिनेछ ।

स्मार्ट ई–पेमेन्ट सेवा 

भाडा अरु गाडी सरह हुने कम्पनीले जनाएको छ । विद्युतीय बसमा यात्रा गर्दा यात्रुले कार्डबाट भाडा तिर्न सक्नेछन् । बसमा स्मार्ट ई–पेमेन्ट प्रणाली छ ।

यात्रुहरुले आफ्नै कार्डबाट भुक्तानी गर्न सक्ने तथा मोबाइलबाट ‘क्युआर कोड स्क्यान गरेर पनि रकम भुक्तान गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार अशक्त, अपाङ्ग र विद्यार्थीलाई सहुलियत हुनेछ । 

दशैँअघि भैरहवा, पोखरा र चितवनमा पनि !

सुन्दर यातायात प्रालिले केही महिनाभित्रमा नै बीएके ब्राण्डका विद्युतीय बसहरु नेपालका मुख्य शहरलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने बताएको छ । विद्युतीय सवारीसाधन सञ्चालन ऐनमा सरकार सकारात्मक देखिएपछि आफूहरु पनि सकारात्मक रहेको कम्पनीले बताएको छ ।

‘ऐनमा समस्या थियो, अब टेबलमा गैसक्यो । भाडादर, विद्युतीय महशुल दर र रुट/परमिटको सम्बन्धमा पनि प्रक्रिया अघि बढिसकेको छ, यसले पनि हामी उत्साहित छौं’ कम्पनीका अध्यक्ष पोखरेलले भन्नुभयो । 

साउनभित्रमा नै उपत्यकामा सुन्दर यातायातको विद्युतीय बस गुडाउने लक्ष्य राखेको कम्पनीले दशैँभित्रमा नेपालका अन्य शहरमा पनि विद्युतीय बस सञ्चालमा ल्याउने बताएको छ । भैरहवा, पोखरा, चितवन लगायतका शहरमा सेवा सञ्चालन गर्ने कम्पनीले लक्ष्य राखेको छ । यसका लागि शेयर सदस्यहरुसँग पनि कुरा भैरहेको सुन्दर यातायात प्रालिले जनाएको छ ।     

आधा घण्टामै फूल चार्ज

सुन्दर यातायातले झण्डै ४० मिनेटमा नै चार्ज गर्न मिल्ने सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउने भएको छ । यद्दपि कम्पनीले दुई घण्टा २० मिनेटमा फूल चार्ज गर्नसक्ने चार्जिङ मेसिन भित्र्याइसकेको छ । काठमाण्डौमा सवारी जामको अवस्था र घण्टौसम्म एकै स्थानमा गाडी चार्ज गर्ने अवस्था नभएको हुँदा कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन ल्याउन लागेको हो । 

चार्जिङ स्टेशनका लागि अहिले डेढ रोपनी जग्गा भाडामा लिइएको र यसका लागि पहल भैरहेको सञ्चालक समितिका सदस्य पोखरेलले बताउनुभयो । काठमाण्डौको सडकको अवस्था र परिवेश हेरेर नै कम समयका चार्ज हुने मेसिन भित्र्याउन लागिएको उहाँले बताउनु भयो ।  

तस्बिर: सुन्दर यातायात प्रालि

अन्तिम अपडेट: चैत ११, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया